नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् ।
कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपालगंज गुलरीया सडक खण्डमा संचालन हुने यात्रुबाहक सवारी साधानमा यात्रा गरिरहेका यात्रु, चालक, सह चालक, साईकल यात्री, मोटरसाइकल चालकहरुलाई तथा पैदल यात्रीहरुलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गर्दै कोरोनाबाट बच्न अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा सचेत गराउनु का साथै मास्क वितरण गरेको छ ।
उपरोक्त स्थानमा आवागमन गर्नेहरुलाई स्वास्थ्यमापदण्डको पालनाको आग्रह गर्दै मास्क नलगाएकालाई मास्क वितरण गर्नुका साथै ट्राफिक नियमको पनि पालना गर्न आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक शाहले बताउनुभयो । उहाँले यो अभियानलाई गत दुई सातादेखि ट्राफिक प्रहरीले निरन्तर जारी राखेको पनि बताउनुभयो । उहाँले प्रहरीको अनुरोधलाई स्थानीयले गम्भीरताका साथ लिईरहेको पनि बताउनुभयो ।