नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २ । नेपालगञ्जको सुर्खेतरोड विस्तार गर्ने नाममा सडक विभागले आतंक मच्चाइरहेको भन्दै नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा आइसकेको विषय विपरीत संरचना भत्काउनका लागि बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल यो कार्य रोक्न माग गरेको छ ।
सडक विभागले गरिरहेको यस्तो कार्य भत्सर्नायोग्य भएको नेपालगञ्ज नगर कार्यसमितिको ठहर छ । सडक विस्तारका नाममा बर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको उसको भनाई छ । सुर्खेतरोड विस्तार गर्ने क्रममा यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (बस्ती क्षेत्र) कायम गरी त्यस क्षेत्रमा २१ देखि २५ मिटरको बीचमा बनेका संरचना नभत्काई सडक विस्तार गर्ने विषय कार्यान्वयनमा आई निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा सडक विभागले हँचुवाको भरमा पत्राचार गरिरहेको नगर सभापति विष्टले बताउनुभयो ।
जयसपुरदेखि मनिकापुर चोकसम्मको सडकको दायाँबायाँ २१ मिटर नै कायम हुनुपर्ने विष्टको भनाई छ । उहाँले नियम विपरीत घर खाली गर्न र भत्काउन गरिएको ताकेता फिर्ता नभए आफुहरु सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
गणेशमान चोकदेखि कारकाँदोसम्मको ३ किलोमिटर क्षेत्र र कोहलपुरमा हाइ स्कुलदेखि चौराहसम्मको ८ सय मिटर क्षेत्रमा घरधनी वा जग्गाधनीलाई मर्का नपरोस् भनेर उक्त क्षेत्रलाई विल्ट अप एरिया (बस्ती क्षेत्र) तोकेर २१ देखि २५ मिटरमा बनेका संरचना कायमै राखेर सडक विस्तार गर्ने मन्त्रीपरिषद्ले नै निर्णय गरेर कार्यान्वयनमा आइसकेको कुरालाई उप्काएर आतंक सिर्जना गरिनु गलत भएको अधिकांश स्थानीयको भनाई छ ।