नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ११ । नेपाली सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता नेपालगञ्जमा बुधवारबाट सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेर अग्रता कायम गरेको छ ।
खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो । खेल सुरु हुने वित्तिकै गोल खाएपछि भैरवप्रसाद गणका खेलाडी आक्रमक बनेका थिए । ५२ मिनेटमा भुपेन्द्र रानाको गोलमा भैरवप्रसाद गण बराबरीमा आएको थियो ।
त्यसपछि भैरवप्रसादले लगातार दबाबमा राखेको थियो । ८१ मिनेटमा संगम चौधरी र ८९ मिनेटमा भुपेन्द्र रानाले नै गोल गरेपछि भैरवप्रसाद गण विजयी भएको हो।
यसअघि प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, वेष्टर्न अस्पतालका सञ्चालक डा। राहुल थापालगायतले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीका अनुसार, प्रतियोगितामा आठवटा टीम रहेका छन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेता चार टीम आगामी चैत १६ देखि जेठ २ गतेसम्म हुने ‘प्रधान सेनापति ट्रफी’मा सहभागी हुनेछन् ।
कमाण्ड सेनापति प्रतियोगितामा भैरवप्रसाद गण, नेपालगञ्ज, नयाँ सबुज गण, सुर्खेत, चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट, भवानी दल गण, तेघरी ब्यारेक कैलाली, भवानी बक्स गण, अछाम, नन्दबक्स गण, जुम्ला, रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी र रण बम गण, डडेल्धुरा सहभागी रहेका छन् ।