नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १६ । नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिनु भएकी माओवादी नेतृ कल्पना शर्माले उम्मेदवारी फिर्ता लिनु भएको छ । शर्माले शुक्रवार उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भयो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको परिपत्र र नेकपा माओवादी बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेससभाका सांसद आईपी खरेल, नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन शाहीको आग्रहमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले माओवादी नेताहरुले टिकट वितरणमा केही सामान्य त्रुटी भएको हुनसक्ने जनाउँदै भविष्यमा त्यस्ता कुरामा ध्यान दिने प्रतिवद्धता जनाउनु भएकोले आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
यसअघि लामो समयदेखि वडा नम्बर ५ मा पार्टी र जनताको सेवा गर्दै आउनु भएकी नेतृ शर्माले वडा अध्यक्षको उम्मेदवारमा दावेदारी प्रस्तुत गर्नुभएको थियो । तर, पार्टीले अन्तिम समयमा आएर एक्कासी वडा अध्यक्षको टिकट मुस्ताक अन्सारीलाई दिएपछि समर्थक र पार्टीका कार्यकर्ताको दवावमा उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
उम्मेदवारी फिर्ता लिएपछि उहाँले अब फेरी पनि पार्टी र जनताको काममा निरन्तर खटिने प्रतिवद्धता जनाउनु भएको छ ।