नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार १७ । अबदेखि नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा प्रहरीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज लर्डबुद्ध एजुकेशनल एकेडेमी बीच मध्यपश्चिम प्रहरी अस्पतालबाट रिफर भएर आएका प्रहरी, पुर्व प्रहरी र उनका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा रिफर भएर आएका वहालवाला र पुर्व प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट दिने सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको उहाँले बताउनुभयो ।
सोही प्रकारले प्रहरी परिवारका सदस्य विरामी भएर प्रहरी अस्पतालबाट रिफर भै आएमा उनिहरुको उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले बताउनुभयो । उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पुर्व प्रहरी र उनका परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो ।
उक्त सम्झौता साउन १ गतेदेखि लागु हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको प्रहरी उपरिक्षक डा. प्रधानले बताउनुभयो ।
उक्त सम्भौतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत डा सुनिलकुमार सिंह र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको तर्फबाट प्रहरी उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले हस्ताक्षर गरेर आदान प्रदान गर्नुभएको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका डिएसपी डा आनन्द झाले जानकारी दिनुभयो ।