नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २२ । नाकाबाट हुँदै आएको अवैध आयात निर्यात रोक्न क्रियाशिल सशस्त्र प्रहरीको सक्रियताले नाकामा तस्करी गर्दै आएका साना ठुला तस्करहरुमा खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरीले गरिरहेको दिनरातको गस्ती र कडा निगरानीका कारण तस्करहरुले मनपरी तरिकाले राजस्व छलेर यताको सामान उता र उताको सामान यता ल्याउन नपाएपछि उनिहरुमा खैलाबैला मच्चिएको बताईएको छ ।
भारतबाट लाखौं लाखको राजस्व छलेर अवैध रुपमा ल्याइने गरेको कपडा, मोटरसाइकल र गाडीका पार्टपुर्जा, कास्मेटिक सामान लगायतको अवैध आयात तस्करले चाहे जस्तो गरेर हुन नपाएपछि उनिहरु आत्तिएको पाईएको छ । नाकामा लामो समयदेखि सक्रिय रहेका तस्करहरुले अवैध आयात र निर्यात दुबै गर्ने कार्य दिनदिनै गरेपनि अधिकांश सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि उनिहरु चिन्तित बनेका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेत बाँकेमा आएयता अवैध आयात निर्यातमा अतिनै कडाई गरिएकोले तस्करहरु आत्तिएको एक तस्करलेनै बताएका छन् । तर, पनि उनिहरुले आफ्नो काम भने छाडेका छैनन् । दैनिकजसो सामान भित्र्याउन खोज्दा पटक पटक सामान प्रहरीले नियन्त्रणमा लिंदै आएको छ ।
सोही क्रममा पछिल्लो पटक सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी नाका नजिकैबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेतले बताउनुभयो ।
उहाँले नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज १६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ९० हजार रुपैयाँ बराबरको अवैध छुर्पी बरामद गरेको बताउनुभयो ।
बरामद गरिएको सबै अवैध छुर्पीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको पनि एसपी बस्नेतले जानकारी दिनुभएको छ । उहाँले ६५ किलोमिटर खुला नाका भएकोले अवैध आयात निर्यातलाई पुर्ण रुपमा नियन्त्रणमा समस्या भएको बताउनुभयो ।