सिराज खान
नेपालगञ्ज, साउन ५ । देव्यानी इन्टरनेशनल नेपाल प्रालिद्धारा सञ्चालित केएफसीले नेपालगञ्जको मदरसामा अध्ययनरत विपन्न तथा गरिब बाल बालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विहिबार यहाँस्थित मदरसा दारुल उलुम बरकातियामा आयोजित एक कार्यक्रममा बरकातियाका ३१६ जना अतिविपन्न तथा गरिब बालबालिकालाई जनही एक स्कुल व्याग र ६ वटा कपी वितरण गरियो ।
विपन्न भएका कारण व्याग समेत खरिद गर्न नसक्ने मदरसाका अति विपन्न बालबालिकालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत ३१६ वटा व्याग र कपी वितरण गरिएको देव्यानी इन्टरनेशनल नेपालका प्रमुख विजय शर्माले बताउनुभयो ।
उहाँले अतिनै गरिब बिद्यार्थिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै संस्थाले सधैं गरिब र विपन्नलाई सहयोग गर्दै आएको बताउनुभयो ।
सो अवसरमा केएफसीका नेपाल प्रमुख शर्मा लगायत वित्तिय प्रमुख ऋतुराज शाह, एचआर प्रमुख दिपेश भट्ट, अप्रेसन प्रमुख अरिन्दम घतक, आइटी प्रमुख हमिदुररहमान, वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यप, नेपालगञ्ज उपमहानगरका शिक्षा शाखा प्रमुख लोकेन्द्र शाही, मदरसाका संरक्षक मौलाना अब्दुल जब्बार मन्जरी, प्रधानाध्याक मौलाना जियाउल मुस्तफा, सदस्यहरु जाकिर हुसेन हल्वाई र मो. फारुक खान लगायतले बालबालिकालाई व्याग र कपि वितरण गर्नुभयो ।
वडा अध्यक्ष नन्दकिशोर कश्यपले विपन्न बालबालिकालाई सहयोग गर्ने केएफसीलाई धन्यवाद दिंदै वडा कार्यालयले पनि मदरसालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपालगञ्ज उपमहानगरका शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीले नेपालगञ्जका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यहरु जारी राख्न आग्रह गर्नुभयो ।
नेपालमा पहिलो पटक २००९ मा काठमाण्डौको दरबारमार्गमा केएफसी सञ्चालनमा आएको र हाल देशभरि केएफसीका १३ वटा आउटलेटहरु रहेको उक्त अवसरमा जनाईएको थियो ।