समाचारदाता
नेपालगञ्ज, साउन २६ । वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै बाँकेको अग्रणी गैर सरकारी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उदेश्यले विशेष अभियान सञ्चालन गर्न लागेको छ ।
फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
अभियान बारे जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजीकरण गरिरहेको बताउनुभयो ।
सो का लागि संस्थाले विश्वका चिकित्सकहरु नामक अन्तराष्टिय गैर सरकारी संस्थासंग साझेदारी गरेर बाँकेको नेपालगगञ्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरिरहेको कार्यकारी निर्देशक सुनारले बताउनुभयो ।
सोही कार्यक्रम अन्तर्गत आम नागरिकमा सचेतना बढाउन साउन २९ गते नेपालगञ्जमा विभिन्न क्षेत्रका ३०० जना सरोकारवालाहरुको सहभागितामा प्रभात फेरी, सडक नाटक, स्टल प्रदर्शनीसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाईयो ।
प्रभातफेरी र अन्तरक्रियामा सरसफाईकर्मी, नागरिक समाज, पत्रकार, राजनितिज्ञ, जनप्रतिनिधि र स्थानीय सरकारका प्रमुख लगायतको सहभागिता रहने बताईएको छ ।
धम्बोझी चोकबाट शुरु हुने प्रभात फेरीले सचेतना बढाउने विभिन्न सामाग्रीसहित नगरपरिक्रमा गरेर भेरी प्राविधिक शिक्षालयमा पुग्ने र सोही स्थानमा प्रदर्शनी लगायत अन्तरक्रियाको आयोजना गरिने परियोजना संयोजक इन्द्रजित सुनारले बताउनुभयो । उहाँले प्रेस वक्तव्य समेत पत्रकारहरुलाई सुनाउनु भएको थियो ।
सो अवसरमा पत्रकारहरुका जिज्ञासा मेटाउँदै एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापाले परियोजनाको पृष्ठभूमिसहित समग्र जानकारी गराउनु भएको थियो । उहाँले समग्रमा फोहोर व्यवस्थापनको अवस्था र सरसफाईकर्मी तथा विषादी प्रयोग गर्ने किसानको अवस्था बारे पनि जानकारी गराउनु भएको थियो ।
पत्रकार सम्मेलनमा एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकी लगायतले पनि कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।