सिराज खान
नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो ।
तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए ।
गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो ।
काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभयो ।
दुबै खुट्टा काटिएपछि अपांगता भएर हिडडुल गर्न समेत नसकेका पोखरेलले धेरै दुख कष्ट सहनु परेको जनाउँदै छोरा काम गर्ने भएपछि केही राहात महसुस भएको बताउनुभयो । एउटा नक्कली खुट्टा लगाएपनि राम्ररी हिडडुल गर्न नसकेको उहाँले बताउनुभयो ।
शुरुमा एक संस्थाले दिएको ह्विल चेयर राम्ररी नचलेपछि जिल्ला समन्वय समिति बाँकेले दिएको अर्को व्हील चेयर पनि निकै अप्ठयारो रहेकोले चलाउन नसकेर अधिकांश समय घरमै खाटमा थन्किनु परेको ६० वर्षिय पाखरेलको भनाई छ ।
तर, दुबै खुट्टा काटिएको दस वर्षपछि अहिले कतार च्यारिटीले दिएको तीन पांग्रे साइकल पाएपछि उहाँ धेरै खुशी हुनुहुन्छ । बाँके युनेस्को क्लबमार्फत खोजी गरेर पोखरेललाई च्यारिटीले तीन पांग्रे साइकल दिएको छ ।
साइकल पाएर नजिकै एक फन्को लगाएपछि पोखरेलले खुशी हुँदै भन्नुभयो–‘मलाई दस वर्षपछि यति राम्रो साधन मिलेको छ, म अब राम्ररी गाउँ घर भरि डुल्न सक्छु, जान आउन सक्छु, म धेरै खुशी छु ।’
यसैगरि जन्मिएको एक वर्षपछि दुबै खुट्टामा पोलियो भएर थला परेका नेपालगञ्ज २० मनिकापुरका राजितराम यादवले पनि तीन पांग्रे साइकल पाएपछि खुशीले गदगद हुनुभयो ।
उहाँले आँखाबाट आँसु झार्दै आफुले पनि जीवनमा पहिलो पटक साइकल पाएको बताउनुभयो । एक हात समेत कमजोर रहेको यादवले साइकल चलाएर हिडडुल गर्न सक्छु भन्ने विश्वास नै नलागेको बताउनुभयो ।
कतार च्यारिटीले बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका, खजुरा, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका अति विपन्न व्यक्तिको खोजी गरेर तीन पांग्रे साइकल वितरण गरेको छ ।
तीन पांग्रे साइकलको वितरण कतार च्यारिटी नेपालका प्रमुख ईर्शाद अलि शेषले गर्नु भएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । ( गोरखापत्र दैनिकबाट साभार )