समाचारदाता
नेपालगञ्ज, भदौं २ । भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपले जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्राविधिक र आर्थिक सहयोग गरि दर्ता गराएको कवाडी माल सामान ब्यवसायी संघ बाँकेले बिहिवार नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरेको छ ।
संघ दर्ता भएको उपलक्ष्यमा बाँकेमा रहेका सम्पूर्ण कवाड ब्यवसायीहरुले आर्थिक संकलन गरि अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन । अस्पतालमा रहेका करिब एकसय जना विरामीलाई फलफुल सहयोग गरिएको संघका अध्यक्ष मोहम्मद उमर कवाडीले जानकारी दिनुभयो । संघका लुम्विनी, कर्णाली तथा सुदुरपश्चिम संयोजक चन्दनकुमार शाहले संघ बिधिवत दर्ता भएको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल सहयोग गरिएको बताउनुभयो ।
यसैगरी संघको पहलमा ब्यवसायी श्याम जायसवालले अस्पताल परिसरमा विरामी र कुरुवालाई न्यूनतम मुल्यमा खाना खुवाउँदै आएको अञ्जनी माता रसोईलाई ५ बोरा चामल र नुन सहयोग गर्नुभएको छ ।
सो अवसरमा कवाडी माल सामान ब्यवसायी संघ बाँकेका अध्यक्ष उमर कबाडीले दर्ता गर्न सहयोग गरेकोमा परियोजना र बी ग्रुपलाई धन्यवाद दिनुभयो । फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकी, सामाजिक परिचालन अधिकृत राज कुमार खड्का, कृषि प्राविधक धना रावल र लक्ष्मी प्रसाद आचार्यको पनि सहभागिता रहेको थियो ।