सिराज खान
नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो ।
संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर थारुले बताउनुभयो ।
सोही प्रकारले दिउँसो मन्त्री अथकले राप्तीसोनारी ६ हब्रहवामा निर्माण गरिएको जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री अथकले यो भवनको निर्माणपछि अब यस क्षेत्रका विद्यार्थिलाई उच्च शिक्षाका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त हुने बताउँदै आगामी समयमा अरु पनि सहयोग गर्ने बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रकाश शर्माले भवन निर्माणपछि अब क्याम्पसमा पढ्न चाहने नरैनापुरदेखि राप्तीसोनारीका विद्यार्थिलाई सहज हुने बताउनुभयो ।
दुई तले १५ कोठे पक्की सो क्याम्पस भवन स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २ करोड १० लाखको लागतमा निर्माण गरिएको क्याम्पस प्रमुख लोकमणी बटालाले बताउनुभयो ।
ती दुबै भवनको उदघाटनमा वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका सचेतक पार्वती पुन र मन्त्री अथकका स्वकिय सचिव दिलिप सोनी लगायतको पनि सहभागिता रहेको थियो ।
सोही प्रकारले विहिबार अपरान्ह मन्त्री अथकले राप्तीसोनारी ३ भवनियापुरमा निर्माण गरिएको सरस्वति माध्यामिक विद्यालयको ४ कोठे भवनको उदघाटन पनि गर्नुभयो ।
राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रुपियाँको लागतमा निर्माण गरिएको सो भवनको उदघाटन गर्दै मन्त्री अथकले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई पक्की भवनमा परिणत गरिने र अपुग भएका थप कोठाहरु समेत निर्माण गर्दै जाने बताउनुभयो ।
सोही अवसरमा सांसद विकास कोष, तराई मधेश समृद्धि कार्यक्रम विद्यालयको आन्तरिक श्रोतबाट ४८ लाख रुपियाँको लागतमा निर्माण गरिएको अर्को ४ कोठे भवनको उदघाटन मन्त्री अथक र लुम्बिनी प्रदेशकी सांसद पार्वती पुनले संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिशा सिंह थारु, निवर्तमान अध्यक्ष लाहुराम थारु, वडा अध्यक्ष, सदस्यहरु, विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रेमराज श्रेष्ठ, पुर्व अध्यक्ष शालिकराम डाँगी लगायत विभिन्न पार्टीका प्रतिनिधिहरु र सर्वसाधारणको ठुलो संख्यमा उपस्थिति रहेको थियो ।