नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २४ । केही दिनयता दिनहुँ बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला चारैतिर फैलिएपछि बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।
बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला फैलिएपछि बाँकेबासीमा डरत्रास बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अहिलेसम्म बाँकेमा त्यस्तो कुनै घटना नभएको र कुनै पनि बच्चा नहराएको बताउनुभयो । उहाँले सो सम्बन्धि सबै हल्लाहरु निराधार भएको र कसैले डर त्रास उत्पन्न गर्न फैलाएको बताउनुभयो ।
समाजमा डर त्रास उत्पन्न हुने कुनै पनि भिडियो र फा्ेटो सामाजिक सञ्जालमा नराख्न तथा कसैलाई नपठाउन आग्रह गर्दै उहाँले नमानेमा प्रहरीले कारवाही गर्ने बताउनुभयो ।
सो प्रकारको हल्लालाई बाँके प्रहरीले अत्यन्त गम्भीरता पूर्बक लिएको जनाउँदै सो बारेमा निकै सचेत समेत रहेको उहाँले बताउनुभयो ।
नगरमा चारैतिर सो सम्बन्धि हल्ला फैलिएपछि स्थानीयले एकजना मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई पक्राउ गरेर प्रहरीको जिम्मामा लगाएकोमा ती ब्यक्तिको बारेमा अनुसन्धान गर्दै जाँदा मानसिक सन्तुलन ठिक नभएको र दिसापिसाब एकैठाउँ गर्ने, त्यसको आफन्त समेत कोही नभएको र केही दिन नियन्त्रणमा राखेर बुझ्दा मागेर पाइएको पैसा बाहेक केही नभेटिएको बाँकेका प्रमुख प्रहरी एसपी अधिकारीले बताउनुभयो ।
एसपी अधिकारीका अनुसार बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको खबर अफवाह मात्रै हो र त्यसका पछि कोही पनि लाग्नु हुँदैन ।