समाचारदाता
नेपालगञ्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बुधवार नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ भने भोली विहिबार डुडुवा ५ लालपुरस्थित डुडुवा नदमिा निर्माण गरिने पक्की पुलको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार सोही प्रयोजनका लागि मन्त्री राई बुधवार विहान गृह जिल्ला बाँके पुग्नु भएको छ ।
सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतीको लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडी बढेको हो । कुल ३५ किलोमिटर सडक फोरलेन स्तरोन्नती गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले बुधवार दिउँसो ३ बजे शिलान्यास गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले बताउनुभयो ।
खजुरारोड स्थित नन्दनी मिल नजिक शिलान्यास कार्यक्रम राखिएको जनाउँदै प्रमुख शाक्यले नेपालगन्ज–गुलरिया हुलाकी सडक साँघुरो भएका कारण सडक दुर्घटना बढ्न थालेपछि स्तरोन्नती गर्न लागिएको बताउनुभयो ।
उहाँले सो सडक स्तरोन्नतीको कार्य छिटै शुरु हुने पनि बताउनुभयो । नेपालगन्जदेखि सिधनवाघाटसम्मको हुलाकी सडक पनि स्तरोन्नती गरिन लागेको शाक्यको भनाई छ ।
सोही प्रकारले गत साता मात्रै डुडुवामा चार वटा पक्की पुलको शिलान्यास गरेर निर्माण प्रक्रियालाई अगाडी बढाउनु भएका मन्त्री राईले भोली विहिबार पनि एउटा थप पुलको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ ।
डुडुवा ५ लालपुरवास्थित डुडुवा खोलामा डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट निर्माण गरिने पक्की पुलको मन्त्री राईले शिलन्यास गर्नु हुने जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । यसअघि मन्त्री राईले कम्दी मिलनचोक नजिकको डुडुवा पुल, राप्ती नदीमा निर्माण गरिने नयाँ लामो र फराकिलो पुल तथा डुडुवा खोलामा निर्माण गरिने चार वटा पुलको पनि शिलानयस गरेर निर्माण प्रक्रियालाई अगाडी बढाउनु भएको थियो ।
सोही प्रकारले जमुनाहा कोहलपुर सडकको राँझासम्म अस्फाल्ट कालोपत्रे, सोही राजमार्गमा ५ वटा आकाशे पुल निर्माणको पनि शिलान्यास मन्त्री राईले गरिसक्नु भएको छ ।