८ माघ २०८१, मंगलवार

जेसिसको खुल्ला बहसमा धवल राजा गायब, जनताबाट डराएर भागेको सहभागिको आरोप

जेसिसको खुल्ला बहसमा धवल राजा गायब, जनताबाट डराएर भागेको सहभागिको आरोप

भ्रष्टाचार, विकास र सुशानका मुद्दामा बहस र छलफल गर्न राईद्धारा खुला चुनौती
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । नेपालगन्ज जेसीजले आइतवार त्रिभुवन चोकमा आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा सहभागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो एजेण्डा र उम्मेदवारीको औचित्य पुष्टि गर्ने विचार प्रस्तुत गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राई, स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको सहभागिता थियो ।
कार्यक्रमको अन्तिममा स्वतन्त्र उम्मेदवार हन्नान जसगढ उपस्थित भएपनि समय भन्दा धेरै पछाडी पुगेकोले उनलाई केही बोल्न दिईएको थिएन । राप्रपाका उम्मेदवार धवल शमसेर राणा अनुपस्थित भएपछि कार्यक्रमका आयोजकसहित धेरैले राजा डराएर कार्यक्रममा नआएको टिप्पणी गरेको पाइयो ।
कार्यक्रमका सञ्चालक वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले कार्यक्रममा सहभागि नभएका उम्मेदवारले जनताको प्रश्नसंग डराएर सहभागि नभएको जनाउँदै जो आज जनताको अगाडी आउन चाहदैन त्यसले भोली कसरी जनताको सेवा गर्छ भन्ने प्रश्न गर्नुभयो । कार्यक्रममा सहभागि धेरै सर्वसाधारणले धवल राजा किन आएनन् भनेर एक अर्कासंग प्रश्न गरिरहेको देखिन्थ्यो ।
शुरुमा सबै उम्मेदवारले आफ्नो परिचयसहित आफुले गर्ने काम र योजना बारे जानकारी गराएका थिए भने दोस्रो चरणमा जनताले लिखित रुपमा सोधेका प्रश्नको जवाफ एक एक गरेर दिएका थिए ।


जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार राईले यो क्षेत्रको विकास, भ्रष्टाचार र सुशासनका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको चुनौती दिनुभयो । उहाँले आफुले भौतिक पुर्वाधारलाई मात्र विकास नभनि जनताको जिवनस्तरदेखि रोजगारी र व्यापार व्यवसाय फस्टाउने लगायत शिक्षा र स्वास्थ्यको समेत विकासलाई फोकस गरेको बताउनुभयो । राप्रपाका राणाको नाम नलिएर उनलाई लक्षित गर्दै धर्मको नारा दिएर सदभाव बिथोलेर कुर्सिमा पुग्ने सपना देख्नेहरुले समाजलाई विभाजन गर्न खोजेकोले आफुले सो कुनै पनि हालतमा हुन नदिने राईले बताउनुभयो ।
स्वतन्त्र उम्मेदवार खनालले आफुले कुनै पनि धर्मको विरोध नगरेर हिन्दु धर्ममा कुनै भेदभाव, उचनिच र छुवाछुत नरहेकोले सबै हिन्दुले मिलेर धर्मले निर्देशित गरेको सदाचारको बाटोमा हिड्न लगाउने गरि उम्मेदवार बनेको बताउनुभयो । उहाँले विश्वको एक मात्र हिन्दु राष्ट समाप्त गरिएकोमा कडा आपत्ति समेत प्रकट गर्नुभयो ।
स्वतन्त्र पार्टीका उम्मेदवार अग्रहरीले खुला नाका नेपालको लागि सबैभन्दा घातक रहको जनाउँदै सोही कारणले मात्रै यहाँको व्यवसाय सखाप बनेको र अन्य विकृतिहरु पनि भित्रिएकोले नाका व्यवस्थित गर्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले नेपालगञ्जमा मात्र ठुलो संख्यामा भारतीय नागरिकले रोजगारी पाएकोले नेपाली बेरोजगार बनेको बताउनुभयो ।
कार्यक्रममा सहभागि अधिकांश सर्वसाधारणले पुर्वमन्त्री राईले नै विकास र सदभाव कायम गर्न सक्ने बताउँदै उहाँको पक्षमा पटक पटक नाराबाजी गरेर निर्वाचनको माहोललाई तताएका थिए । राई र खनाल समर्थकहरुको हुटिंगले गर्दा कार्यक्रम झनै रोचक र उत्साहपुर्ण बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *