पुर्वमन्त्री ईश्तियाक राईले सो पुल निर्माणको योजना पास गराएका थिए
समाचारदाता
नेपालगन्ज, पुस २० । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको बाँके जिल्लाको राप्ती नदीमा बन्ने नयाँ लामो फराकिलो पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथिको पुल निकै साँघुरो र जिर्ण भएकोले नयाँ पुल निर्माण गर्न तत्कालिन भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले योजना पारित गराउनु भएको थियो ।
सो पुल निर्माणको लागि लुम्बिनी रतुवा बन्दन भगवती जेभीले करिब १ अर्ब ५० करोड रुपियाँको लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। पुलको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो।
सो पुल निर्मााण्का लागि ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी रतुवा बन्दन भगवती जेभी रहेका थिए । ती मध्ये लुम्बिनी रतुवा बन्दन भगवती जेभीले निर्माणको ठेक्का पाएको हो ।
हुलाकी राजमार्ग आयोजनाका अनुसार यो पुलको निर्माण र डिजाइन दुबै निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ। यो पुल बाँकेको सिधनियास्थित राप्ती नदीमा निर्माण हुने आयोजनाले जनाएको छ।
सो पुल ७०० मिटर लामो रहेको छ। यसको डिजाइन निर्माण कम्पनीले ६ महिनामा सम्पन्न गर्नु पर्नेर्छ। यसमा निर्माण र डिजाइन गर्न ३ वर्षको समय दिइएको छ। डिजाइन सम्पन्न भएको ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ।
अहिले त्यहाँ भएको पुरानो पुल निकै साँघुरो र जिर्ण भएर जोखिम अवस्थामा रहेकोले नयाँ फराकिलो र लामो पुल निर्माणको योजना आफुले नै पारित गरेको पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले बताउनुभयो । उहाँले आफु सानो समयका लागि भौतिक पुर्वाधार मन्त्री भएको बेला सो पुल लगायत डुडुवा खोलामा ६ वटा पुलसंगै नेपालगञ्ज राँझा सडक विस्तार, आकाशे पुल, टराफिक लाईट लगायत नेपालगञ्ज गुलरिया सडक विस्तारको योजना समेत ल्याएको बताउनुभयो ।
ती मध्ये केही योजनाहरुको काम तिव्र गतिमा चलिरहेको छ भने केहीको ठेक्का भएर निर्माण प्रक्रियामा रहेका छन् ।