सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् ।
अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ ।
नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो ।
समाजसेवी मलिकले यस्ता प्रचण्ड गर्मीको बेला स्थानीय सरकार र विभिन्न संघसंस्थाले नगरको चोक चोकमा खानेपानीको व्यवस्था गर्नु पर्नेमा त्यसो नगरिएको पाउँदा दुख लागेर आफुले आफ्नो निजि श्रोतबाट सो कार्य गरेको बताउनुभयो ।
त्रिभुवन चोक र विपि चोकमा चिसो खानेपानी वितरण गरिएपछि बाटो चल्ने बटुवा र अन्य सर्वसाधारणले सो कार्यको सराहना गरेका छन् ।
त्रिभुवन चोकमा पानी खाँदै गर्दा भेटिनु भएका जावेद राईले तातो हावा लु बाट जनजीवन अत्यधिक प्रभावित भएको बेला वितरण गरिएको खानेपानी अमृत सहर भएको बताउनुभयो ।
युवाद्धारा वितरण गरिएको पानी खानका लागि दुबै चोकमा आवागमन गर्नेको घुँइचो लागेको स्थानीयले जनाएका छन् ।