सरकारसंग ४०० जना जनशक्ति माग गरेका छौं–अस्पताल प्रमुख
सिराज खान
नेपालगञ्ज, साउन २१ गते । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीहरुको उपचार गरिरहेको छ । यति धेरै क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र हुनुहुन्छ । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन ।
काज र करारामा रहनु भएका चिकित्सक र कर्मचारीहरु पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २०० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफुले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ४०० जनशक्ति आवश्यक रहेको ठहर गरि सरकारसंग माग गरेको बताउनुभयो ।
डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृत स्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहनु भएकोमा २७ जना थप माग गरिएको, ५८ जना सहायक स्तरका कर्मचारी करारमा रहनु भएकोले ३४ जना थप माग गरिएको छ । साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन समेत मन्त्रालयमा माग गरिएको छ ।
बिरामीको संख्या दिनदिनै बढ्दै गएकोले हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहनु भएकोले थप ६ जना माग गरिएको र ५ जना मेडिकल अफिसर रहनु भएकोले थप २ जना माग गरिएको छ ।
एक वर्षमा ३० हजार बिरामीको उपचार
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्ष २०७९–०८० मा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ ।
अस्पतालका प्रमुख डा. भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवा सुविधा मार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ ।
यसअघि तीन प्रदेशका बिरामीहरुलाई क्यान्सर उपचारका लागि चितवन, काठमाण्डौ वा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ ।
गत आर्थिक वर्षमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ । ती मध्ये केही शल्यक्रिया अतिनै जटिल किसिमका र काठमाण्डौमा समेत नभएका शल्यक्रिया पनि गरिएको जनाईएको छ ।
अस्पताल प्रशासनका अनुसार उक्त क्यान्सर अस्पतालले पश्चिम नेपालमै पहिलो पटक पोजेटिभ प्रेशर आईसियु सञ्चालनमा ल्याउन सफल भएको छ भने चौबिसै घण्टा ल्याब तथा एक्सरे सेवा शुरु गरेको छ । यसैगरि ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार शुरु गरेको छ । अस्पतालमा दुई वटा अत्याधुनिक अप्रेशन थिएटर, भिडियो एक्सरे र सिटि स्क्यान पनि सुचारु रहेको छ ।
सोही प्रकारले अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दुरबिन प्रविधीबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिष्टोप्याथोलोजी सेवा सुचारु रहेका छन् ।
अस्पतालमा ब्लड बैंक सञ्चालनको अन्तिम तयारी चलिरहेको छ भने सबैभन्दा महत्वपुर्ण मानिने रेडियसन थेरापी गर्ने लिन्याक मेसिन जडान भइरहेको र केही समयमै सो मेसिन सञ्चालनमा ल्याइने जनाईएको छ । गोरखापत्र दैनिकबाट साभार