समाचारदाता
नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ ।
एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो ।
मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर विष्टले यो सहयोग निकै ठुलो र महत्वपुर्ण रहेको जनाउँदै यसबाट संस्थालाई आयआर्जन हुनुका साथै नगरको सफाईमा समेत ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालगन्ज लगायत बाँके जिल्लामा कार्यरत सरसफाईकर्मीको पेशागत स्वास्थ्य र सुरक्षाका लागि यो परियोजनाले निकै राम्रो काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खानले वि–ग्रुपसंग मिलेर यहाँका सरसफाईकर्मीका लागि केही काम गर्न पाएकोमा निकै खुशी लागेको जनाउँदै भविष्यमा पनि सहयोग जारी रहने बताउनुभयो ।
सोही प्रकारले कार्यक्रमको अध्यक्षता गर्दै भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाजले यो सहयोगको सही सदुपयोग गरेर संस्थाको आम्दानी बढाउनुका साथै नेपालगन्ज लगायतको सरसफाईमा समेत महत्वपुर्ण योगदान पुरयाउने बताउनुभयो ।
वि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले सञ्चालन गर्नु भएको सो हस्तान्तरण कार्यक्रममा नेपालगन्ज वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोबी, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापा, एमडिएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की, परियोजना संयोजक इन्द्रजित सुनार र परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकी लगायत बाल्मिकी समाजका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
वि–ग्रुपद्धारा सञ्चालन गरिएको “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” को माध्यमबाट जिल्लाका सरसफाईकर्मीको पेशागत सुरक्षासंगै किसानहरुलाई विषादीको हानी बारे पनि सचेत गर्ने कार्य गरिंदै आएको छ ।