सिराज खान
नेपालगन्ज, भदौ १७ । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट देशभरि जस्तै बाँकेका पनि ८१ वटै वडामा एकै पटक निकै उत्साहजनक रुपमा शुरु गरीएको छ ।
अभियान शुरुवातको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको अपार आकर्षण र लगाव देखिएको छ । अभियानको शुरुवातका लागि आयोजना गरिएका सबै जसो कार्यक्रममा जनता र कार्यकर्ताको उत्साहजनजक सहभागिता रहेको पाईएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले बताउनुभयो । उहाँले अभियानको पहिलो दिननै बाँकेका ८१ वटै वडालाई एकैपटक माओवादीमय बनाईएको जनाउनुभयो ।
नेकपा माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेका अनुसार अभियानको पहिलो दिन बिभिन्न पार्टी परीत्याग गरी २०० बढि नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन । जिल्लाका ८ वटै पालिकामा संचालन गरीएका बिभिन्न कार्यक्रममा २०० बढीले पार्टी प्रवेश गरेको र अझै धेरैजना पार्टी प्रवेशको तयारीमा रहेको जानकारी पनि आएको संयोजक पाण्डेले बताउनुभयो ।
माओवादीका लागि अत्यधिक महत्व राख्ने सो रुपान्तरण अभियानको नेतृत्व गर्दै बाँके आउनु भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसीले पनि बाँके जिल्ला माओवादीको किल्ला बन्ने संभावना अत्यधिक रहेको बताउनुभयो । उहाँले जिल्लाका अधिकांश जनतामा माओवादीको एजेण्डाप्रति समर्थन देखिएको जनाउँदै उनिहरुलाई आवश्यक परेको बेला नेतृत्व दिने सही व्यक्तिहरुको मात्र खाँचो रहेको बताउनुभयो । बाँकेका नेता कार्यकर्तामा यो अभियानबाट उत्पन्न उर्जाले जनसमर्थन बढाउन सहयोग गर्ने स्थायी समिति सदस्य केसीको धारणा छ ।
सो अभियान सफल पार्न पार्टीका केन्द्रिय सदस्य दामा शर्मा लगाएत प्रदेश र जिल्ला तहका नेताहरुले बिभिन्न स्थानमा भएका कार्यक्रममा सबोधन गर्दै नव प्रवेशीहरुलाई स्वागत गर्नुभयो ।
तीन महिने यो अभियाना क्रममा जिल्लाका सबै जनताको घरघरमा पुगेर माओवादीका एजेण्डासहित सरकारले गरेका काम र आगामी दिनका कार्ययोजन बारे बिस्तृत रुपमा जानकारी गराइने नेकपा माओवादी केन्द्र बाँकेले जनाएको छ ।