१० माघ २०८१, बिहीबार

बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

सिराज खान
नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो ।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।
कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले आफ्नो पालिकामा यति ठुलो उद्योग स्थापना गर्ने कुरा थाहा पाएर खुसी लागेको जनाउँदै त्यसका लागि आफूले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले उद्योगका लागि के गर्न सकिन्छ, बसेर छलफल गरेर काम गर्न तयार रहेको जनाउँदै कानुनी प्रक्रियाहरू पूरा गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले २०७६ सालबाट उद्योग निर्माणका लागि सुरु गरिएको प्रक्रिया अझै जारी रहेको जनाउँदै बैङ्कले यो महिना लगानी गरेमा ६ महिनाभित्र प्रशोधन सञ्चालनमा आउने बताउनुभयो । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र चौधरीले उद्योगका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने सब डिभिजन वन कार्यालयका प्रतिनिधि चक्रपाणि शर्मा, शेयर सदस्यहरू भीम राना र होम बहादुर अधिकारी लगायतले सो उद्योगले राप्तीसोनारीको मात्र नभई पश्चिम नेपालकै आर्थिक विकासमा ठुलो टेवा पुर्‍याउने बताउनुभयो ।
उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ । ३३ करोड प्रारम्भिक लगानीका लागि हालसम्म ५१ जनालाई शेयर वितरण भइसकेको छ भने बैङ्कले लगानी गर्नासाथ दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपर रिसाइकल प्लान्ट स्थापना गरिने जनाइएको छ । (गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *