समाचारदाता
नेपालगन्ज, पुस १० । यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता नेपालगन्जको महेन्द्र रंगशालामा हुने भएको छ ।
प्रतियोगिता बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जिल्लास्तरीय प्रतियोगितामा ४९४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेे मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा संयोजक होम बहादुर सुनारले बताउनुभयो ।
उहाँले प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङका खेलाडीहरुको सहभागिता रहने जनाउँदै तेक्वान्दो खेलाडीहरुले आफनो क्षमता प्रदर्शन गर्नका लागी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहनु भएका सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग मिल्नेछ ।
प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समूह र महिला तर्फ २० देखि ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजेता टिमलाई, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित टिमलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगिता आयोजना गर्नका लागी करीब १४ लाख १८ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको संयोजक सुनारले जनाउनुभयो ।
पत्रकार सम्मेलनमा बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा नेपाल आइटीएफ तेक्वान्दो लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष वीरेन्द्र शाही, नेपाल आइटीएफ तेक्वान्दो संघ बाँकेका पुर्व अध्यक्ष रञ्जित गिरी, स्टार तेक्वान्दो एकेडेमीका राजेन्द्र केवट, कारकाँदो र सुर्जीगाउँ डोजाङका राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।
सो प्रतियोगिताको उदघाटनका दिन विभिन्न किसिमका साँस्कृति झाँकीले नेपालगन्जको बजारमा नगर परिक्रमा गरी, नृत्य तथा सांस्कृति कार्यक्रम र तेक्वान्दो खेलको प्रदर्शनी गरिने जनाईएको छ ।
विगत देखि मोडेल आइटिएफ तेक्वान्दो एकेडेमीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल हुँदै आएका छन् ।