परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए ।
परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका सफाईकर्मीका लागि स्थानीय सरकारले गर्न नसकेको काम यो परियोजनाले गरेको हुँदा धन्यवाद दिंदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
उहाँले विषादीरहित तरकारी उत्पादन र सफाईकर्मीको स्वास्थ्य बिमा लगायत पेशागत सुरक्षा यस परियोजनाको महत्वपुर्ण कार्य भएको बताउनुभयो ।
सो अवसरमा कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँ, नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपालगन्ज २० का वडा अध्यक्ष कौशल धोबी र खजुरा गाउँपालिका २ का वडा अध्यक्ष धनराम ओलीले यो परियोजनाले २० महिनाको अवधीमा आफुलाई अव्वल सावित गर्न सफल भएको जनाउँदै बाँकी रहेको समयमा यो भन्दा पनि बढी उपलब्धी कसरी हासिल गर्न सकिन्छ भन्नेमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले परियोजनाले तीन पालिकाका ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित भएको जनाउँदै यसले किसानलाई विषादीको प्रयोग बन्द गर्न सिकाउनुका साथै सफाईकर्मीलाई स्वास्थ्य सुरक्षा अपनाउन तयार पारेको बताउनुभयो ।
सो अवसरमा परियोजनाले २० महिनाको अवधिमा गरेका विभिन्न कार्यक्रम, गतिविधि र उपलब्धीका बारेमा परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले प्रस्तुतीकरण गर्नु भएको थियो ।
अधिकृत सिद्दिकीले सो परियोजनाबाट सरसफाईकर्मी, किसान र कबाड व्यवसायमा संलग्न परिवारका २ हजार ९४० जनाले स्वास्थ्य बीमाको सुविधा पाउनुका साथै पेशागत सुरक्षा र दक्षताको सिप र ज्ञानका लागि सहकारी समेतलाई तालिम दिईएको बताउनुभयो ।
उहाँले हालसम्म उक्त परियोजनामा ४ करोड १६ लाख २१ हजार ७६० रुपियाँ लगानी गरिसकिएको जनाउँदै किसानले उत्पादन गरेका विषादीरहित तरकारी लगायतको बजारीकरणका लागि पनि व्यवस्था मिलाईएको बताउनुभयो ।
बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो सामाजिक परिक्षण र सार्वजनिक सुनुवाईमा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नेपालगन्ज उपमहानगर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रतापसिंह, एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की लगायत विभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा नवदुर्गा सहकारी संस्था खजुराका अध्यक्ष मोहन प्रसाद रिजाल, नेपालगन्ज उपमहानगर वातावरण शाखा प्रमुख प्रकाश डिसी, नेपालगन्ज २० का मेघराज खत्री, नेपालगन्ज उपमहागर स्वास्थ्य शाखाका जागेश्वर बस्नेत, डुडुवा ६ का वडा अध्यक्ष मोहन मिश्रा र डुडुवा ६ का किसान ओमप्रकाश चौहानले परियोजनालाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिनु भएको थियो । परियोजनाका कृषि प्राविधिक लक्ष्मी प्रसाद आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।