सिराज खान
नेपालगन्ज, पुस १८ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको माओवादी बिशेष रुपान्तरण अभियानको बाँकेमा समिक्षा गरिएको छ ।
चार महिनासम्म सञ्चालन गरिएको सो अभियानबाट प्राप्त भएका उपलब्धी र गुनासासहित कमी कमजोरीका बारेमा बिस्तृत समिक्षा गरिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनुभयो ।
उहाँले अभियानका संयोजक, माओवादी केन्द्रका नेताहरु लगायत जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरुको सहभागिता रहेको सो समिक्षा कार्यक्रममा पालिकाका प्रमुखहरु लगायत जनवर्गिय संगठनका प्रमुखहरुले रिपोर्टिंग गर्नु भएको र सोही आधारमा समिक्षा गरिएको बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले यो अभियानबाट जिल्लाका समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनुभयो ।
उहाँले चार महिनासम्म गरिएको जनतासंगको घरदैलो अभियान र विभिन्न कार्यक्रमबाट जिल्लाका जनताका वास्तविक समस्या बुझ्न सकिएकोले ती समस्या समाधानको रोड म्याप बनाएर अगाडी बढेमा पार्टी जिल्लामा पहिलो नम्बरमा पुग्ने बताउनुभयो ।
पुर्वमुख्यमन्त्री केसीले जनता र कार्यकर्ताबाट प्राप्त भएका सुझाव, सल्लाह र गुनासाका आधारमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनका लागी पार्टीको केन्द्रिय कार्यालयमा सुझाव पेश गरिने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अर्का स्थायी समिति सदस्य तथा पुर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, थारू नेता सन्तकुमार थारू, महिला नेतृ दामा शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू कबीर लगायत जिल्ला तहका नेताहरुले यो अभियानले पार्टीलाई बलियो र सुदृढ बनाउने बाटो खोलेको जनाएका थिए ।
उनिहरुले तल्लोतहबाट प्राप्त भएका सुझाव र गुनासालाई बेवास्ता गरिएमा ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका थिए ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रमको सञ्चालन सचिव डिल्ली बरालले गर्नु भएको थियो । संयोजक पाण्डेले यो अभियानले जिल्लामा पार्टी चलायमान बनेको ठहर गर्दै अभियानमा सक्रियताको आधारमा कार्यकर्ताको मूल्यांकन गरिने बताउनुभयो ।