दुर्गा बर्माको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन
सिराज खान
नेपालगन्ज, भदौ ७ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफुहरुले बिद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनु भएकोछ ।
नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला तथा बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले उपेन्द्र यादव मधेस आन्दोलन र मधेस बिद्रोहको मर्म बिपरित गएकोलेनै आफुहरु छुट्टिएको बताउनुभयो ।
उहाँले मधेसीको हक, अधिकारको रक्षा सहित अन्य पिडित र उत्पिडित समुदाय र वर्गको उत्थानका लागि जनता समाजवादी पार्टी गठन भएको जनाउँदै सबैतिर उत्साहपुर्ण समर्थन मिलिरहेको बताउनुभयो ।
पूर्वमन्त्री राईले थप्नुभयो–‘गत निर्वाचनमा यादवकै निर्देशनमा मलाई समेत हराउने काम गरियो, मलाई पराजित गराउन बाँकेमा गठबन्धन गर्न दिइएन । आफु निकटका नेता, कार्यकर्तालाई मेरो बिरुद्धमा परिचालन गरे, कुनै जानकारी नदिई बिना कारण सचिवबाट हटाईयो । तानाशाही कति सहने ?’
उहाँले पार्टीलाई बलियो र सुदृढ बनाउने उदेश्यका साथ अहिले जिल्ला जिल्लामा सम्मेलन र भेलाहरु गर्ने कार्यहरु भइरहेको जनाउँदै सोही साथसाथै मिसन २०८४ पनि सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्व राज्यमन्त्री हसिना खान, लुम्बिनी प्रदेशका पुर्वमन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्य आदेश अग्रवाल लगायतले पनि नव गठित जनता समाजवादी पार्टीले मधेश आन्दोलनको मर्मलाई पुरा गर्ने कार्य गर्ने बताउनुभयो ।
जिल्ला सम्मेलन आयोजक समिति गठन
ठुलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको सो भेलाले दुर्गा प्रसाद बर्माको अध्यक्षतामा ६८ सदस्यीय बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
सो समितिको उपाध्यक्षमा भीम जंग शाह र जाकिर राई, सचिवमा राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा अजय टण्डन, उपसचिवमा साधना बर्मा र बिकास बिक्रम थापा मनोनित हुन् भएको सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार सोही भेलाले मोहम्मद अहमद राईको अध्यक्षतामा ४५ सदस्यीय समाजवादी युवा संघ बाँके र गीता मल्लको अध्यक्षतामा ४० सदस्यीय समाजवादी महिला संघ बाँके र अरुण सिंहको अध्यक्षतामा नेपालगन्ज उपमहानगर समितिको पनि गठन गरेको छ ।
उक्त भेला लगत्तै समाजवादी महिला संघ बाँकेको आयोजनामा बृहत्त दर खाने कार्यक्रम समेत गरिएको समाजवादी महिला संघ बाँकेका अध्यक्ष गीता मल्लले बताउनुभयो ।