२५ भाद्र २०८१, मंगलवार

सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

सिराज खान
नेपालगन्ज, भदौ ९ गते । स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै हब मानिने नेपालगन्जमा १०६ बर्षिय एक बृद्धको जटिल खालको शल्यक्रिया सफलतापूर्वक समपन्न गरिएको छ ।
नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीय पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभएपनि १०६ बर्षका बृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नु परेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताउनुभयो ।
उहाँले थप्नुभयो–‘उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गरयो । एकदमै खुसी लागेको छ ।’


डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको हड्डी भाँचिएको जनाउँदै यति धेरै उमेरमा सो शल्यक्रिया गरिनु र सफल हुनु आफैमा उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँका अनुसार सम्भवतः यो उमेरमा यसखालको शल्यक्रिया नेपालगन्जका कुनै पनि अस्पतालमा अहिलेसम्म भएको छैन ।
१०६ बर्षिय पिताको हिपको हड्डी भाँचिएपछि उपचार नै नहुने जस्तो देखेर आफुहरु निकै दुखी भएको बेला नेपालगन्जमा उहाँको सफल शल्यक्रिया भएपछि पुरा परिवार खुशी भएको शाहलाई अस्पताल लिएर आउनु भएका उहाँका ८७ बर्षिय छोरा भूपेन्द्र बहादुर शाहले बताउनुभयो ।
उहाँले शल्यक्रियापछि पिताको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाउँदै नेशनल अर्थोपेडिक अस्पतालप्रति आभार व्यक्त गर्नुभएको छ ।
८७ वर्षका छोरा १०६ वर्षका बुबाको कुरुवा बसेको देख्दा आफु लगायत अस्पतालको सम्पूर्ण टीम निकै उत्साहित बनेको र यसबाट पिता र छोराको अटुट माया र सम्बन्ध पनि उजागर भएको शल्यक्रियाको नेतृत्व गर्ने अर्थोपेडिक सर्जन डा. सद्दामले बताउनुभयो ।


उहाँले ८७ वर्षका छोराको आँसु र आफ्ना बुबाको उपचार गर्ने चाहनाले आफुहरुलाई शल्यक्रिया गर्न थप बल मिलेको बताउनुभयो ।
१०६ बर्षिय पिताको उपचारका लागि ८७ बर्षिय छोराले चार दिन अस्पतालमा बसेर गरेको सेवा र मिहिनेतबाट अस्पतालका चिकित्सक, कर्मचारी र त्यहाँ रहेका अन्य बिरामी तथा कुरुवाले समेत ठुलो शिक्षा प्राप्त गरेको नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जले जनाएको छ । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *