डुडुवामा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य परीक्षण गराए, ५१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण
सिराज खान
नेपालगन्ज, मंसिर ११ गते । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बनेको नेपालगन्ज उपमहानगरपालिकाको छेउमै रहेको डुडुवा गाउँपालिकामा आयोजित एक स्वास्थ्य शिविरमा मधेशी र मुस्लिम महिलाहरु ठुलो संख्यामा उपचारका लागि पुगेका छन् ।
नेपालगन्जबाट करिब ७ किलोमिटरको मात्र दुरीमा रहेको डुडुवा ६ हिरमिनियामा रहेको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविरमा थामिनसक्नु गरि स्थानीय महिलाहरु उपचारका लागि पुग्नुभयो ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको सो वडा र वरिपरिका वडाबाट धेरै ठुलो संख्यामा महिलाहरु शिविरमा आएर वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउनु भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
उहाँले सोचे भन्दा धेरै बढी महिलाहरु शिविरमा पुगेको जनाउँदै व्यवस्थापनमा हम्मे हम्मे परेको बताउनुभयो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत गाउँपालिकासंगको समन्वयमा डुडुवा ६ मा महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविर सञ्चालन गरिएको थियो ।
सो शिविरमा ३५७ जना मधेशी तथा मुस्लिम महिलाहरुले स्वास्थ्य परीक्षण गराएको परियोजनाका सञ्चार तथा पैरवी अधिकृत सुमित्रा गिरीले बताउनुभयो ।
उहाँले शिविरमा वरिष्ठ स्त्री रोग बिशेषज्ञहरु आएको थाहा पाएर योजना गरे भन्दा धेरै बढी महिलाहरु पुगेको बताउनुभयो ।
सो शिविरमा वरिष्ठ स्त्री रोग बिशेषज्ञहरु डा. कल्पना थापा र डा. उर्मिला पराजुलीले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । शिविरमा कन्सल्ट्यान्ट फिजिसियन डा. शंकर केसीले पनि बिरामीको परीक्षण गर्नु भएको थियो ।
शिविरमा उपचारका लागि पुग्नु भएका अधिकांश महिलाले समय अभाव, आर्थिक समस्या र लाज शरमका कारण सहरमा उपचार गराउन जान नभ्याएको जनाउँदै गाउँ घरमै डाक्टर पुगेपछि चेक गराउन आएको प्रतिक्रिया दिनुभयो ।
वरिष्ठ स्त्री रोग बिशेषज्ञहरु डा. थापा र डा. पराजुलीले शिविरमा आएका धेरै जना महिलाहरुमा आंग खस्ने समस्या, केहीमा पाठेघरको समस्या, सेतो पानी बग्ने समस्या र गर्भवतिहरुको पनि समस्या देखिएको बताउनुभयो ।
सो शिविरमा ५१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएकोमा ४ जनामा क्यान्सर पोजेटिभ देखिएकोले भेरी अस्पतालमा रिफर गरिएको, एक जना पाठेघरमा मासु पलाएको, एकजना पिआइडी लगायतका केसहरु देखिएको बिग्रुपले जनाएको छ ।
सो शिविरमा उपचारका लागि आउनु भएका महिलाहरुको प्रयोगशालामा विभिन्न जाँचहरु गर्नुका साथै निशुल्क औषधी पनि बितरण गरिएको थियो ।
सो शिविरको अनुगमनका लागि त्यहाँ पुग्नु भएका स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले मधेशी र मुस्लिम महिलाहरु स्वास्थ्य चेतनाका हिसाबले पछाडी परेको हुँदा यस्ता शिविरबाट उनिहरुलाई ठुलो लाभ मिल्ने बताउनुभयो ।
सो अवसरमा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानोले मधेशी र मुस्लिम महिलाहरु अझैपनि लाज शरम र अन्य कारणले उपचारका लागि सहरमा नजाने गरेको जनाउँदै गाउँ घरमै शिविर आएकोले धेरै जना उपचारका लागि आएको बताउनुभयो ।
शिविरबाट धेरै जना स्थानीय महिलाहरु लाभान्वित भएको डुडुवा ६ को स्वास्थ्य चौकी प्रमुख भिम बहादुर बिकले बताउनुभयो । सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्रले पनि सहयोग गर्नुभएको थियो ।