समाचारदाता
नेपालगन्ज, मंसिर १४ । बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडा नम्बर ११ का वडा अध्यक्ष विशु यादवको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले अब छिटै गुलरिया नगरपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिने बताउनुभयो ।
सो अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा महिला शाखा प्रमुख शिला शाहले बालविवाह विरुद्धको सरकारी र सामाजिक प्रयासलाई उजागर गर्दै प्रतिवेदन प्रस्तुत गर्नुभयो भने बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले बालविवाह मुक्त गराउन गरिएको कार्य रप्रयासहरु बारे जानकारी गराउनुभयो ।
कार्यक्रममा सात भन्दा बढी समूहहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए भने ३०० जना सहभागी थिए । बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले कार्यक्रम संचालन गरेका थिए भने क्लबका सामाजिक परिचालन अधिकृत धिरज कुमार चौधरीको पनि सक्रिय सहभागिता रहेको थियो ।