समाचारदाता
नेपालगन्ज, पुस ३ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो अभिमुखिकरण मंगलवार सम्पन्न भएको हो ।
गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा तथा व्यवस्थापनको सम्बन्धमा आयोजना गरिएको सो कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बानोले अशिक्षा र जनचेतनाको अभावले गाउँमा बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको जनाउँदै यो परियोजनाले सो समस्या समाधान गर्न सहयोग गर्ने बताउनुभयो ।
आजका बालबालिका भोलीका कर्णधार भएको जनाउँदै उहाँले पोषण परियोजनालाई सफल पार्न सिंगो गाउँपालिका एकजुट भएर लाग्ने पनि सो अवसरमा बताउनुभयो ।
होलिया स्वास्थ्य संस्थाका प्रमुख विरेन्द घलेले संचालन गर्नुभएको सो कार्यक्रममा डुडुवा गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाबाट पवन किरातीले स्वागत मन्तब्य राख्दै समुदायबाट कुपोषण पहिचान गर्न अत्यआवश्यक रहेको बताउनुभयो ।
सो कार्यक्रमको उदेश्यबारे केयर नेपालका शुभेच्छा पन्थीले बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने बी गु्रपको पोषण परियोजनाका स्वास्थ्य अधिकृत सुजाता आचार्यले सहभागि सरोकारवालाहरुसंग पोषण लेखाजोखा सम्बन्धी बृहत छलफल गर्नुभएको थियो ।
सो कार्यक्रममा गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, सबै स्वास्थ्य संस्थाका प्रमुखहरु, पालिकाका प्रमख प्रशाशकिय अधिकृत लगायत सामाजिक बिकास शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
समुदायबाट कुपोषण पहिचान गरी समयमै व्यबस्थापन गर्न डुडुवा गाउँपालिका अन्तर्गतका सबै सरोकारहरुले हातेमालो गदै कार्यक्रम सफल बनाउने प्रतीबद्धता जनाउनु भएको बिग्रुपले जनाएको छ । सो अभिमुखिकरणको समापन कार्यक्रमको अध्यक्षता गर्नु भएका गाउँपालिकाका उपाध्यक्ष बानोले गर्नुभएको थियो ।