१० माघ २०८१, बिहीबार

नेपालगन्जको सरसफाई र स्वच्छताका लागि एकिकृत प्रयासमा बिशेष जोड

नेपालगन्जको सरसफाई र स्वच्छताका लागि एकिकृत प्रयासमा बिशेष जोड

समाचारदाता
नेपालगन्ज, पुस ७ । पश्चिम नेपालकै व्यवसायिक नगर तथा केन्द्रविन्दु मानिने नेपालगन्जको सरसफाई र स्वच्छताका लागि सबै सरोकारवालाले एकिकृत प्रयास गर्नु पर्नेमा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आइतवार आयोजना गरिएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा सो जोड दिईएको हो ।


नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टको उपस्थितीमा सम्पन्न भएको सो बैठक तथा अन्तरक्रियामा बोल्ने अधिकांश सरोकारवालाले नेपालगन्जको फोहोर व्यवस्थापन कुनै पनि एक पक्षको प्रयासले सफल नहुने ठहर गर्दै सबैको एकिकृत प्रयास आवश्यक रहेको बताएका थिए ।
उनिहरुले नेपालगन्जको सफाई र स्वच्छता निकै चुनौतीपूर्ण बिषय रहेको जनाउँदै त्यसका लागि सबै एकिकृत भएर लाग्नु पर्ने आवश्यकता औंल्याए ।
नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिको कार्य योजना निर्माण गर्ने उदेश्यका साथ आयोजना गरिएको सो बैठकमा ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ ले गरेका कामहरुको समिक्षा तथा छलफल गरिएको थियो ।


यस्तै एमडिएम फ्रान्स र बि ग्रुपको सहयोगमा उपमहानगरको फोहोर व्यवस्थापनका लागि गरिएको संख्यात्मक तथा गुणात्मक सर्वेक्षणको तथ्यांक नतिजा परियोजनाका संयोजक समद सिद्दिकीले प्रस्तुत गर्नु भएको थियो । सो तथ्यांकमाथि पनि बिस्तृत छलफल गरिएको थियो ।
सोही प्रकारले उक्त बैठकमा नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिका हरेक क्रियाक्लापलाई सरकारी तथा गैर सरकारी निकायबिच समन्वय गरि एकिकृत रुपमा अगाडी बढाउने निर्णय गरिएको थियो ।
यसैगरि उपहानगरको शिक्षा तथा खेलकुद शाखाले २३ वटै वडामा रहेका सरकारी बिद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकलाई बोलाएर सरसफाई र स्वच्छताका लागि के गर्न सकिन्छ भन्ने छलफल गरि राय सुझाव लिने निर्णय पनि बैठकले गरेको छ ।


साथै सो बैठकबाट तयार गरिएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिको कार्ययोजना मस्यौदामा उपमहानगरको विभिन्न बिषयगत शाखा प्रमुखहरुसंग समन्वय सहकार्य गरेर सल्लाह, सुझाव लिई २२ जनवरी २०२५ सम्म संकलन गरि समितिको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरिएको परियोजना संयोजक सिद्दिकीले बताउनुभयो ।


सो बैठकमा नेपालगन्ज उपमहानगर २, ४, ६ र १२ का वडा अध्यक्षहरु त्रमशः मनोज श्रेष्ठ, गोपाल पुन, समीर प्रतापसिंह र तरुण बज्राचार्य, उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, शिक्षा शाखाका प्रमुख गोर्ख बहादुर थापा, वातावरण तथा सरसफाई शाखा प्रमुख ईन्जिनियर प्रकाश डिसी, सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, कानुन शाखाका प्रमुख माया शर्मा, रोजगार सेवा केन्द्रका अनुप बर्मा, बाँके युनेस्को क्लबका साजिद अलि सिद्दीकी, सामाजिक विकास मञ्चका बृजेश ठाकुर, नेपाल रेडक्रस सोसाईटीका निरन्जना मल्ल लगायतले सरसफाई र स्वच्छताका बिषयमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकको सहजिकरण वाश बिज्ञ बलराम सिग्देल र परियोजनाका संयोजक सिद्दिकीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *