सिराज खान
नेपालगन्ज, माघ १८ गते । जाडोको समयमा रक्तदान गर्नेहरु घट्दै गएपछि रगतको अभाव हुन थालेकोले सो अभाव टार्न एक कल्याणकारी संस्था वी लभ यू फाउन्डेशनले आयोजना गरेको रक्तदानमा एकै दिन १८४ जनाले रक्तदान गरेका छन् ।
वी लभ यू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तानले दिनु भएको जानकारी अनुसार ६८० औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत फाउन्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको जनाउँदै नेपालगन्जमा गरिएको कार्यक्रममा १८४ जनाले एकैदिन रगतदान गरेका हुन् ।
सो रक्तदान कार्यक्रमबाट रगत अभावको बेला १८४ पिन्ट अर्थात ६४ हजार ४०० मिलिलिटर रगत संकलन गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको जनाउँदै यस्ता बृहत्त रक्तदानले अन्य संघसंस्थालाई पनि रगत दान गर्न उत्प्रेरणा दिने बताउनुभयो ।
रक्तदान कार्यक्रममा नेपालगन्ज, भिमदत्त, धनगढी, टीकापुर, वीरेन्द्रनगर र कोहलपुर गरि विभिन्न ठाउँबाट आउनु भएका वी लभ यु फाउन्डेशनका ४०० जना बढी सदस्यहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादवले रगत दान जस्तो महान र जीवन जोगाउने काम अरु नभएको जनाउँदै यति धेरैजनालाई यो कार्य गर्न लगाएकोमा वी लभ यू फाउन्डेसनप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालगन्ज वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, राष्टिय स्वतन्त्र पार्टीका बाँके जिल्ला सभापति हरिपाल सिहं केसी, नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश उप–संयोजक तथा प्रादेसिक रक्तसंचार बाँकेका संयोजक राज कुमार बर्मा, प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, रक्तसंचार कोहलपुर शाखाका संयोजक राजेन्द्र महतरा, वी लभ यू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तान, भिमदत्तका प्रतिनिधी राकेश कायस्थ, टिकापुरका प्रतिनिधी रबि भित्रिकोटी, सुर्खेतका प्रतिनिधी मोहन सुनुवार, कोहलपुरका प्रतिनिधी गोविन्द बहादुर आले मगर, नेपालगन्जका प्रतिनिधी विकास अधिकारी लगायतको सहभागिता रहेको थियो ।
फाउन्डेशनले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नारा अन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दै आएको फाउन्डेशनका पश्चिम क्षेत्रका प्रतिनिधी मोक्तानले बताउनुभयो ।
सो संस्थाले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू पनि निरन्तर विश्वभरिनै गरिरहेको जनाईएको छ । संस्थाले नेपालमा पनि विभिन्न प्रकारका विपदहरुको समयमा जनकल्याणकारी कामहरु गर्दै आएको छ ।