४ जेष्ठ २०८२, शनिबार

फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

समाचारदाता
नेपालगन्ज, फागुन ६ । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन राम्रोसंग हुन नसक्दा नगरको सरसफाई र स्वच्छतामा कमी कमजोरी देखिएकोले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्नेमा एक कार्यक्रममा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा मंगलवार यहाँ आयोजना गरिएको सार्वजनिक निजि साझेदारी मञ्चको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांशले पछिल्लो समयमा आएर नेपालगन्जको सरसफाई खस्किंदै गएकोले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने बताएका थिए ।


पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका कार्यान्वयन, फोर पी प्लेटफार्मको निर्देशिका अनुमोदन तथा कार्यान्वयन, सरसफाईकर्मीहरुको स्वास्थ्य बीमा, नेपालगन्जलाई स्वच्छ र सफा बनाउने विषय र सरसफाईकर्मीको पारिश्रमिकको व्यवस्था लगायत पाँच वटा एजेण्डामा बैठकमा बृहत्त छलफल भएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो ।
बैठकका अधिकांश सहभागिले नेपालगन्जको फोहोर व्यवस्थापन राम्ररी हुन नसकेको, सरसफाईमा लापरवाही गरिएको, सरसफाइकर्मीको बीमा गर्नुपर्ने, उनिहरुलाई मापदण्ड बमोजिमको पारिश्रमिकको व्यवस्था गर्नुपर्ने लगायतका बिषयमा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।


बैठकमा बोल्दै नेपालगन्ज उपमहानगर वडा नम्बर २ का वडा अध्यक्ष मनोज श्रेष्ठले नगरको सरसफाईमा संलग्न सबै निकायले मिलेर परिणाम देखिने गरि काम गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।
उपमहानगरको वातावरण तथा सरसफाई शाखाका वातावरण इन्जिनियर प्रकाश डिसिले सरसफाईका लागि शाखाले तदारुकताका साथ काम गरिरहेको जनाउँदै पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका, सरसफाईकर्मीको स्वास्थ्य बीमा र पारिश्रमिकका सम्बन्धमा उपमानगरपालिका गम्भीर रहेको बताउनुभयो ।
बैठकमा कार्यपालिका सदस्य बसन्त कनोजियाले उपमहानगरको सरसफाईको अतिनै खस्किदो अवस्थाका बारेमा जनताले प्रश्न उठाउन थालेकोले सचेत भएर कार्यशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।


सो बैठकमा नेपालगन्ज उपमहानगर वडा नम्बर १२ र २० का वडा अध्यक्षहरु क्रमशः तरुण बज्राचार्य र कौशल धोबी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, उपमहानगरको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, कानुन शाखाका प्रमुख माया शर्मा, श्रम तथा रोजगार सेवा कार्यालय बाँकेका प्रमुख पिन्टु रजक, स्वास्थ्य बीमा बोर्ड बाँकेका संयोजक अन्जना बराल, नेपालगन्ज उपमहानगरको कार्यपालिका सदस्यहरु मुजम्मिल हलवाई र संगिता रेग्मी, बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकी र कबाडी मालसामान व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाई लगायतले आ आफ्नो धारणा राख्दै सरसफाईकर्मीको पेशागत सुरक्षामा बिशेष ध्यान दिनुका साथै नगरको सरसफाईमा सुधार ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।


उक्त बैठकमा सरसफाईकर्मीहरु र सरसफाईमा आवद्ध निजि संघसंस्थाका प्रतिनिधिहरुसंगै ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का सामाजिक परिचालकहरु सरिता अधिकारी र देवेन्द्र बुढाक्षेत्री लगायतको पनि उपस्थिति रहेको थियो ।
बैठकको सहजिकरण परियोजनाका संयोजक समद सिद्दिकीले गर्नु भएको बि ग्रुपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *