सिराज खान
नेपालगन्ज, फागुन १७ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत लगाईएको आरोपमा कुनै सत्यता नभएको र सो आरोप चरित्र हत्या गर्न लगाईएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रष्ट पारेको छ ।
कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले कक्षा १० को एसइइको परिक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले शनिवार एक प्रेस विज्ञप्ती निकालेर सो आरोपमा कुनै पनि सत्यता नभएको जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रकाशित गरेको बिज्ञप्तीमा बिना आधार प्रमाण केही व्यक्तिद्धारा प्रमुख जिल्ला अधिकारीको चरित्र हत्या गरिएको जनाउँदै त्यस्तो कार्यविरुद्ध खेद प्रकट गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ–‘सामाजिक संजालमा प्रकट भएजस्तो परिक्षा केन्द्र निर्धारणका लागि गरिएको सिफारिसको सम्बन्धमा त्यस्तो कुनै कार्य नभएको एवं परीक्षा केन्द्र निर्धारण सम्बन्धि अन्तिम निर्णय माध्यामिक शिक्षा परीक्षा कक्षा १० सानोठिमी भक्तपुरद्धारा हुने हुँदा वर्तमानमा गरिएको अफवाहप्रति बिश्वास नगर्न हुन सरोकारवाला सबैमा जानकारी गराइन्छ ।
सामाजिक संजालमा राखिएको त्यस्तो आधारहीन र अपुष्ट लेख तत्काल हटाउन समेत सम्बन्धितलाई सोही विज्ञप्तीमार्फत जानकारी गराईएको छ ।
यसैविच सामाजिक संजालमा प्रमुख जिल्ला अधिकारीको चरित्र हत्या गरिएको ठहर गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यका बिरुध्दमा साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी गरिएको थाहा भएको छ ।
मेयर आचार्यबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको जनाईएक्ँै छ । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गर्ने स्रोतले जनाएको छ ।
सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी पेश गर्ने छ । दफा (४७)को (२) अनुसार मेयर लाई पक्राउ गरी उनलाई थप सजाय हुन मागदावी गर्ने तयारी भइरहेको छ ।
फाल्गुन १६ गते बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत विभिन्न आरोप लगाउदै स्टाटस लेखेपछि प्रजिअ रिजालले मेयरलाई प्रमाण लिएर आउन चेतावनी दिनु भएको थियो ।
तर यो समाचार तयार पार्दासम्म मेयर आचार्यले कुनै पनि प्रमाण सार्वजनिक गर्न सक्नु भएको छैन ।
बाँके जिल्लामा सरुवा भएर आएपछि प्रमुख जिल्ला अधिकारी रिजालले राम्रो काम गर्नु भएको र उहाँको बारेमा हालसम्म कुनै पनि प्रकारको अनियमितता गरेको जानकारी नभएकोले यो आरोपमा बिश्वास गर्न सकिने आधारहरु नरहेको सर्वसाधारणको बुझाई छ ।