६ चैत्र २०८१, बिहीबार

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण

समाचारदाता
नेपालगन्ज, चैत १ । बर्दिया जिल्लाको दुई वटा पालिकाका स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ ।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो ।


हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरबाट आउने सहयोगले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले स्थानीय सरकार र स्वास्थ्य संस्थाको स्वामित्व यस किशारकिशारी मैत्री स्वास्थ्य सेवा भवनको दीर्घकालिनताका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाउँदै यी भवन केवल यस स्थानिय तहका जनताका लागि मात्रै नभएर अन्य स्थानिय तहका किशोरकिशोरीहरूले पनि यस संस्थाबाट प्रदान गरिएका सेवाहरूको फाइदा लिन पाउनुुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोरकिशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको र किशोरकिशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि किशोरकिशोरी मैत्री स्वास्थ्यकर्मी, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था र प्रत्येक कार्यक्रममा किशोरकिशोरीहरूको सहभागितामा ध्यान दिनुपर्ने बताउनुभयो ।


प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको उपयोग भएको बताउँदै त्यसको दिगोपनकालागि स्वास्थ्य विभागको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।
हस्तान्तरण समारोहमा दुबै स्थानिय तहका प्रमुख, उप प्रमुख लगायत वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, बाँके यूनेस्को क्लबका अध्यक्ष रवि तुलाधरलगायत प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरुका प्रमुख र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।


अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न, यो परियोजना अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपांगतामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको परियोजनाका संयोजक सुरज अर्यालले बताउनुभयो ।
यि भवनहरुबाट विशेष गरि बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा गेरुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।


बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा कुल ४७ लाख ९१ हजार ६६० रुपियाँ र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा कुल ५० लाख ४१ हजार ३८१ रूपियाँको लागतमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरुको निर्माण सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *