१३९ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १६ जनामा पोजेटिभ
समाचारदाता
नेपालगन्ज, बैशाख १५ । बाँकेको खजुरा गाउँपालिका २ सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत गाउँपालिकासंगको समन्वयमा सो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका २०३ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै १६ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो ।
उहाँले स्वास्थ्य परीक्षण गरिएका मध्ये ७१ जनामा पाठेघर सम्बन्धि सर्भिसाइटिस, भ्याजिनाइटिस र भल्भाइटिसजस्ता विभिन्न संक्रमण देखिएको बताउनुभयो ।
शिविरमा आएका १३९ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँचगर्दा १६ जनाको भिआईए. पोजिटिभ अर्थात शंकास्पद पाईएको र पाँच जनाको पाठेघर खसेको पाईएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।
उहाँले पाठेघरको शंकास्पद क्यान्सर देखिएका र पाठेघर खसेका तथा अन्य संक्रमण भएकाहरुलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको पनि बताउनुभयो ।
सो शिविरमा भेरी अस्पतालका वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. उर्मिला पराजुली र एचसीआरसी अस्पतालका वरिष्ठ स्त्रीरोग तथा बाझोपन बिशेषज्ञ डा. मन्जु बिसी शाहले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने कन्सल्ट्यान्ट फिजिसियन डा. शंकर केसीले पनि उहाँहरुको परीक्षण गर्नु भएको थियो ।
शिविरमा उपचारका लागि पुग्नु भएका अधिकांश महिलाले यो शिविरबाट आफुहरुलाई निकै लाभ र उपचारमा सहयोग भएको प्रतिक्रिया दिनुभयो ।
भेरी अस्पतालका वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. पराजुलीले शिविरमा आएका धेरै जना महिलाहरुमा पाठेघरको समस्या देखिएको जनाउँदै शिविरका कारण उनिहरुले समयमै उपचार शुरु गर्न सकेको बताउनुभयो ।
सो शिविरको अनुगमनका लागि स्वास्थ्य कार्यालय बाँकेबाट नरेश श्रेष्ठ र बिष्णु श्रेष्ठ तथा खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट निरिक्षक शमसुद्दिन सितापुर स्वास्थ्य चौकीमा पुग्नु भएको जनाईएको छ ।
उक्त अवसरमा एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले बिग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ मा आवद्ध महिला किसानलाई लक्षित गरेर यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको बताउनुभयो ।
सोही प्रकारले ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले शिविरमा लक्षित महिलाहरुको उपस्थिति निकै राम्रो भएको जनाउँदै यसबाट धेरैजनाको रोग पत्ता लागेको र उपचार संभव भएको बताउनुभयो ।
परियोजना संयोजक सिद्दिकीका अनुसार उक्त शिविरको उदघाटन वडा नम्बर २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता धनराम ओलीले गर्नु भएको थियो भने समापन गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले गर्नु भएको थियो ।
उदघाटनका अवसरमा बीग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारीको पनि उपस्थिती रहेको थियो ।
बीग्रुपले बाँकेको खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरमा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरिरहेको छ ।