समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो ।
मधुबन नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष मेघ बहादुर गुरुंगले उदघाटन सत्रमा बोल्दै मानव बेचविखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघ संस्था र स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयो ।
माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक अधिवक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गरिरहनु भएको सो तीन दिवसीय तालिममा बाल अधिकार, बाल संरक्षण, बाल बालिकामाथि हुने हिंसा तथा रोकथाम, मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानब तस्करी, शोषण, कानुनि प्रावधानका बारेमा बिस्तृत रुपमा जानकारी गराएर घट्ना व्यवस्थापनका बारेमा प्रशिक्षित गरिने बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो ।
सो तालिममा समूह कार्य मार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिकाका बारे प्रस्तुती गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
तालिममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर सावित्रा भाटले पनि व्यवस्थापनमा सहयोग गरिरहनुभएको छ ।