टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो मेडिकल उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र नेपालगन्ज २ को सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरिएको हो ।
नेपालगन्जका दुईटा स्वास्थ्य संस्थालाई चार लाख ६८ हजार २१४ रुपियाँ बराबरको उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको संयोजक सिद्दिकीले बताउनुभयो ।
सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नम्बर ४ लाइ चार लाख १३ हजार ८२२ रुपिया र सहरी स्वास्थ्य केन्द्र वडा नम्बर २ लाई ५४ हजार ३९२ रुपियाको विभिन्न उपकरण तथा प्रयोगशालाकालागि मेशिन, रेपिड टेस्ट किट र रि–एजेन्ट जस्ता सामाग्रीहरु सहयोग गरिएको बी ग्रुपले जनाएको छ ।
मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले प्रभावकारी रूपले नेपालगन्जका जोखिममा रहेको समुदायकोलागि काम गर्दै आएको जनाउँदै सराहना गर्नुभयो ।
उहाँले साथै यो परियोजनाले स्वास्थ्य संस्थाहरुलाई शुरु देखिनै बलियो बनाउन सहयोग गरि रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाई राख्ने अपेक्षा रहेको बताउनुभयो ।
परियोजनाले पालिकालाई पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका र सार्वजनिक निजि साझेदारी बैठक निर्देशिका बनाउन महत्वपूर्ण प्राबिधिक सहयोग गरेको जानकारी पनि सो अवसरमा मेयर बिष्टले दिनुभयो । एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले लक्षित समुदायको लागि यस परियोजनाले स्वास्थ्य प्रणाली बलियो बनाउने मुख्य उदेश्य राखेर काम गरिरहेको बताउनुभयो ।
टिडि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
यसैबिच सो परियोजना अन्तर्गत नै टिडि खोपको समिक्षा तथा योजना बैठक पनि सम्पन्न गरिएको छ ।
सो बैठकमा ५०० जना सरसफाईकर्मी र १५०० जना कृषकहरुलाई बयस्क टिडि खोप लागि रहेको जानकारी गराउँदै सो खोपको अधिकतम पहुच बढाउन र ड्रप आउट कम गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिईएको थियो ।
उक्त बैठकमा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठ, नेपालगन्ज स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द र जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी र जनस्वास्थ्य निरिक्षक शमसुद्दीन खाँ तथा डुडुवा गाउँपालिका स्वास्थ्य शाखाबाट पवन कैरातीको उपस्थिति रेहको थियो ।
समिक्षा बैठकमा खोपको दोस्रो डोज लगाउँदा १८७ जना ड्रप आउट देखिएको कुरालाई गम्भिरतापूर्वक लिन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ लगायत राम बहादुर चन्द र लक्ष्मी केसीले अनुरोध गर्नु भयो भने खोप लगाउँदा प्रभावकारी परामर्श गर्ने कुराहरुलाई पनि ध्यानदिनु पर्नेमा जोड दिनु भयो ।
स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले परियोजनाका लाभग्राहीहरुलाई खोप लगाउँदा खोपको समय तालिकालाई ध्यान गरि पूर्ण खोप गराउने सुझाब दिनु भयो भने छुटेकाहरुलाई ड्रप आउट नगरि छुटेको खोपमा राख्न निर्देशन दिनु भयो ।
सो कार्यक्रममा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्र वडा नम्बर २, मनिकापुर स्वास्थ्य चौकी वडा नम्बर २०, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ११, डुडुवाको हिर्मिनिया स्वास्थ्य चौकी वडा नम्बर ६ र खजुराको वडा नम्बर २ को सीतापुर स्वास्थ्य चौकीका प्रमुखहरुलगायत अन्य स्वास्थ्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।