समाचारदाता
नेपालगन्ज, जेठ ९ गते । बाँकेको डुडुवा र खजुरा गाउँपालिका तथा नेपालगंज उपमहानगरपालिकामा सन्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाले नेपालगंजका अस्पतालहरु, स्वास्थ्य कार्यालय बाँके, नेपालगंज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, वातावरण शाखा, विधायन समिति र भौतिक पूर्वाधार समिति संयोजकहरुको सहभागितामा सार्वजनिक नीजी साझेदारी मंचको बैठक सम्पन्न गरेको छ ।
एमडिएम फ्रान्स र एएफडिको आर्थिक सहयोगमा बी ग्रुपद्वारा सन्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत आयोजना गरिएको बैठकमा नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर २३ मा रहेको सेन्टर ट्रीट्मेन्ट फ्यासिलिटी र अस्पतालहरुबीच दोहोरो संवाद भएको थियो ।

सो छलफलका दौरान अस्पतालबाट स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्टयाउने अभ्यास कमजोर रहेको कारण साधारण फोहोरमा जोखिमपूर्ण र संक्रमित फोहोर मिसिएर पठाउने गरिएको देखिएकोले सरसफाईकर्मीहरुलाई सुइ घोपिने र संक्रमण हुने जोखिम उच्च रहेकोमा चिन्ता प्रकट गरियो ।
बैठकमा नेपालगन्ज उपमहानगरका वातावरण इन्जिनीयर प्रकाश डिसीले स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थापन गर्न नेपालगंजले सुधार गर्दै गई रहेको र त्यसलाई उदाहरणीय बनाउन सम्पूर्ण स्वास्थ्य संस्थाहरुले हातेमालो गर्न आवश्यक रहेको जानकारी गराउनु भयो ।
त्यसै क्रममा नेपालगंजको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बिगतमा स्वास्थ्यजन्य फोहोरहरु जथाभावी फाल्ने अभ्यास देखिएको र उप महानगरले यस्ता गलत अभ्यासलाई नियंत्रित गर्न कडा जरिवाना गरेको हुँदा यस्ता अभ्यास कहिँ कतै देखिएमा फेरी पनि कडा कारवाही गर्ने चेतावनी दिनु भयो ।

साथै अस्पतालहरुले स्वास्थ्यजन्य फोहोर सहि तरीकाले व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनकालागि फोकल पर्सन नियुक्त गर्नु पर्ने आवश्यकता औंल्याउँदै उहाँले अस्पतालहरुले कर्मचारीहरुलाई यसको गम्भीरता बुझाउदै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धि तालीम गराउनु पर्ने बताउनुभयो ।
भौतिक पूर्वाधार समीतिका संयोजक बसन्त कनौजियाले यो समस्या एकदम गम्भीर रहेको र धेरैको जीवननै जोखिममा रहेको कारण यस्तो समस्याहरुलाई नियमन गर्न एउटा छुट्टै निरिक्षण टोली बनाउनुपर्ने बताउनुभयो ।

वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष समीरप्रताप सिंहले समुदायको सबै भन्दा पिछिडीएका वर्गको समस्यालाई ध्यान नदिईएकोमा परियोजनाको सक्रिय क्रियाक्लापहरुका कारण सो समुदायको समस्याहरुप्रति पालिकाको ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाले परियोजनाको सहयोगमा आवश्यक क्रियाक्लापलाई प्रक्रियामा ल्याउने योजना बनाइरहेको पनि बताउनुभयो ।
बैठकका सहभागिहरुले सरसफाईकर्मी र कृषकहरुको पेशागत र वातावरणीय जोखिमलाइ न्यूनीकरणगरि स्वास्थ्य सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्यजन्य फोहोरमा काम गर्ने सरसफाईकर्मीहरुलाई स्वास्थ्यजन्य फोहोरबाट हुन सक्ने विभिन्न रोगहरुको जोखिम रहेको कारण उक्त जोखिमलाई न्यूनीकरण गर्न अस्पतालहरुमा स्वास्थ्यजन्य फोहोर सहि तरिकाले छुट्याउन पर्नेमा जोड दिएका थिए ।

परियोजनाको अध्ययन अनुसार नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर २३ मा रहेको सेन्टर ट्रीट्मेन्ट फ्यासिलिटीका सरसफाईकर्मीहरुले स्वास्थ्यजन्य फोहोर आउंदा साधारण फोहोरमा पनि जोखिमपूर्ण स्वास्थ्यजन्य फोहोर जस्तै रगत भएको पट्टि, संक्रमित सुइ, सिशाहरु आएको हुँदा सरसफाईकर्मीहरुलाई सुइ घोपिने र संक्रमण हुने जोखिम उच्च रहेको छ ।
