समाचारदाता
नेपालगन्ज, जेठ १६ । बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुका लागि सञ्चालन गरिएको बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजनामा सो तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था तथा स्थानीय निगरानी समूहहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले बाल संरक्षण र मानब बेचबिखन नियन्त्रणकालागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तीन दिनसम्म चलेको सो तालिममा पालिकाका उपप्रमुख, महिला बालबालिका शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु र प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बिकले बताउनुभयो ।
तालिम समापन सत्रको संचालन महिला बालबालिका शाखा प्रमुख अनिता चौधरीले गर्नुभएको थियो ।
सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य लक्ष्मी चंदारो र मानब बेचबिखन नियन्त्रण समितिका सदस्य लोकराज ढुंगानाले तालिम निकै प्रभावकारी भएको र यसबाट मानब बेचबिखन अन्त्य गर्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।
तालिममा बालअधिकार, बालसंरक्षण, बालबालिकामाथि हुने हिंसा तथा रोकथाम, मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानव तस्करी, शोषण, कानुनी प्रावधान घटना ब्यबस्थापन, सिफारिस संयत्रका बारेमा प्रशिक्षकद्वय युवराज पोख्रेल र निर्मल सुबेदीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको उदेश्य तथा परियोजनाका बारेमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले जानकारी गराउनुभयो ।
तालिममा समूह कार्यमार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे विभिन्न प्रस्तुतीहरु गरिएको थियो ।
तालिममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिषा थारुले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।