समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउपालिकामा अभिभावक, शिक्षक तथा समुदायको सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत सो अभिमूखिकरण सम्पन्न गरेको हो ।
सो कार्यक्रममा मावि तथा आधारभुत विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभगीता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतमले प्रत्येक शिक्षकले आफ्नो विद्यालयमा ज्ञान र बुझाइको प्रभावकारी कार्यान्वयन गरेमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र बिद्यार्थिबिच समन्वय आवश्यक रहेको पनि बताउनुभयो ।
अभिमूखिकरणमा सहभागी यादवप्रसाद रेग्मीले यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र यसले शिक्षकहरूमा नयाँ ऊर्जा तथा उत्साह थप्न सहयोग गरेको बताउनुभयो । साथै, यस्ता कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गरिनुपर्ने माग पनि उहाँले गर्नुभयो ।
अभिमुखीकरणको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकमा शिक्षाप्रतिको सकारात्मक सोच÷बानी विकास गर्न शिक्षकहरूको भूमिकाको जानकारी दिनु र समुदायमा एक घर एक पढाई कुना निर्माणको अभियानलाई तिव्र बनाउनु रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, विद्यालय प्रधानाध्यापक उपप्रधानाध्यापकहरू र सञ्चारकर्मीहरू गरी जम्मा ३९ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण अर्जुन प्रसाद तिवारीले गर्नु भएको थियो भने सो अवसरमा मुल्यांकन अधिकृत अनु चौधरी, फिल्ड कर्मचारीहरु भगवती बीक र नग्मा मनिहारको पनि उपस्थिति रहेको थियो ।
सोही प्रकारको अभिमूखिकरण मधुवन र बढैयातालमा यस अघि नै भै सकेको बाँके युनेस्को क्लबले जनाएको छ ।