२४ मंसिर २०८२, मंगलवार

नेपालगञ्ज उपमहानगरपालिकामा जेठ ३१ गते निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने

नेपालगञ्ज उपमहानगरपालिकामा जेठ ३१ गते निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने

समाचारदाता
नेपालगञ्ज, जेठ २८ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको आयुर्वेद शाखाले विभिन्न स्वास्थ्य समस्याका लागि नेपालगन्जमा एक दिने निःशुल्क आयुर्वेद विशेष उपचार शिविर आयोजना गर्ने भएको छ। उक्त शिविर जेठ ३१ गते शनिबार, वडा नम्बर ४, स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, गणेशपुरमा सञ्चालन गरिने आयुर्वेद शाखाले जनाएको छ ।
विहिबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै आयुर्वेद शाखाका प्रमुख डा. सुरेश पुनले बिहान ८ बजेबाट सुरु भई दिउँसो ३ बजे सम्म सञ्चालन गरिने सो शिविरमा ५०० जना बिरामीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले शिविरमा शिविरमा पाइला, फिस्टुला, फिसर, पाइल्स, मधुमेह, बान्ता, एसिडिटी, अपच, पेट दुख्ने, कब्जियत, ग्यास, पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, हड्डी तथा नसासम्बन्धी समस्या, स्नायु तन्त्र र मांशपेशीका समस्या, मूत्र प्रणालीका समस्या, स्त्रीरोग, चर्मरोग तथा यौनजन्य समस्या भएको बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने जानकारी गराउनुभयो ।


सो शिविरमा डा.पुन लगायत आयुर्वेद शल्य बिशेषज्ञ डा. सरोजमणी पोख्रेल, पन्चकर्म बिशेषज्ञ डा प्रवेश श्रीवास्तव, डा. आलोक पाण्डे, डा. गिता रेग्मी, डा. कृष्ण चापागार्ई, डा.अकबर अली र डा. मनोजले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नु हुने जनाईएको छ । पछिल्लो समयमा आएर आयुर्वेदप्रति सर्वसाधारणको विश्वास बढ्दै गएकोले लक्ष्य भन्दा बढी बिरामी शिविरमा पुग्ने अनुमान गरिएको आयुर्वेद शाखा प्रमुख डा. पुनले बताउनुभयो ।
आयुर्वेद शाखाका अनुसार नेपालगन्जको जयसपुर, परसपुर र भवानीपुरस्थित आयुर्वेद औषधालयमार्फत पनि सेवा उपलब्ध भइरहेको छ। विभिन्न स्वास्थ्य समस्या भएका सबै नागरिकलाई उक्त शिविरमा सहभागी भइ स्वास्थ्य परीक्षण र आवश्यक औषधि सेवा लिन शाखाले अपिल समेत गरेको छ ।
उपमहानगरपालिकाले बिगतका वर्षहरूमा पनि यस्ता शिविर सञ्चालन गर्दै आएको र यसपटक थप व्यवस्थित रुपमा सेवा विस्तार गरिने नेपालगन्ज उपमहानगरका कार्यवाहक मेयर कमरुद्दीन राईले सो अवसरमा बताउनुभयो ।
उहाँले नेपालगन्जमा करिब ७ करोड रूपियाको लागतमा आयुर्वेद अस्पतालको भवन निर्माण भइरहेको पनि बताउनुभयो । सो अवसरमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव राम प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ बाँकेका सभापति नविन गिरीको पनि उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *