समाचारदाता
नेपालगन्ज, असार १८ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा लगाईएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीहरुले बुधवारदेखि नेपालगन्जमा रिले अनसन शुरु गरेका छन् ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको अगुवाईमा नेपालगन्जको सदरलाइनमा व्यवसायीहरुले सो रिले अनसन शुरु गरेको नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दीन जसगढले बताउनुभयो ।
उहाँले सरकारद्धारा लगाईएको अनावश्यक कर विरुद्ध व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द गरेर रिले अनशन समेत शुरु गरेको बताउनुभयो । अनसनको क्रममा पाँच जना व्यवसायी एक पटक अनसनमा बस्ने र सोही प्रकारले पालैपालो गरि अनसनलाई जारी राख्ने जनाईएको छ ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका महासचिव सुखनारायण सोनारले बन्दको समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पाइएमा पहिलो पटक ११ हजार, दोस्रो पटक ३१ हजार जरिवाना गर्ने उल्लेख गर्दै तेस्रो पटक पनि संघको निर्णय नमान्ने सदस्य व्यवसायीको सदस्यता समेत खारेज गर्ने चेतावनी दिईएको बताउनुभयो ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय विरुद्ध देशभरिका सुनचाँदी व्यवसायीहरु निरन्तर आन्दोलनमा छन् ।
व्यवसायीहरुले गत असार १३ गतेदेखिनै अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द गरेर आफ्ना माग पुरा गराउन जुलुस, रयाली र सभाहरु गर्दै आएको लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका सदस्य मोहम्मद हासिम अन्सारीले बताउनुभयो ।
उहाँले सरकारले अनावश्यक कर लगाउने भनि गरेको घोषणा फिर्ता नलिएसम्म सुनचाँदी व्यवसायीको आन्दोलन जारी रहने बताउनुभयो ।