समाचारदाता
नेपालगन्ज, साउन २३ गते । कर्णाली डेभलपमेन्ट बैंकको घोटालामा फरार सूचिमा रहेका १०३ जना मध्ये बैंकका उच्च कर्मचारी, सञ्चालक, राजनितक दलका नेताहरु, चिकित्सक र लेखा परिक्षकहरु समेत रहेका छन् ।
फरार सूचिमा रहेकाहर मध्ये बैंकका अध्यक्ष डा. ओम प्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु दिनेश कुमार रावत, निरज बिक्रम शाह र बिष्णु प्रसाद कक्षपति, बैंकका पूर्व नेपालगन्ज शाखा प्रमुख दिपा थापा रहेका छन् ।

सोही प्रकारले डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडा अध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनितिक दलका नेताहरु ओम प्रकाश आजाद र ओम प्रताप राणा पनि फरार सूचिमा रहेको जनाईएको छ ।
यसैगरि लेखापरिक्षकहरु विनम कुमार श्रेष्ठ, भुवन प्रसाद गैरे, तुलाराम कुर्मी, केशव प्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ पनि सो बैंक घोटालामा फरार सुचिमा रहेका छन् ।
बैंकमा घोटाला गरेको भन्दै पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ ३ पैसा बिगो कायम गरेर उच्च अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
राष्ट्र बैंकबाट गठित ब्यवस्थापन समूहका तर्फबाट अख्तियारप्राप्त समूहका सदस्य उपनिर्देशक जुगल किशोर कुशवाहको जाहेरीले सो मुद्दा दर्ता गरिएको हो ।
