समाचारदाता
नेपालगन्ज, भदौ १५ । किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाउन बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत बर्दियामा नियमित स्टिक एण्ड स्टोन सेसन सञ्चालन गर्दै आएको छ ।
यी सेसनहरू बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ का किशोरी क्लबमा सञ्चालन भइरहेको क्लबले जनाएको छ ।
सो कार्यक्रमको मुख्य उद्देश्य किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाई उनीहरूलाई आफ्ना साथी, परिवार, समुदाय तथा सरोकारवालासँग ज्ञान र सीप बाँड्न सक्षम बनाउनु रहेको क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक क्लबमा २५ जना सदस्य सहभागी रहेकाछन् । क्लबहरूले छ महिनामा १८ वटा अन्तरक्रियात्मक सेसन पूरा गर्नेछन्, जसमा हानिकारक परम्परागत अभ्यासको अन्त्य, बालसुरक्षा, नेतृत्व विकास र सिर्जनशीलताको प्रवद्र्धन जस्ता विषयहरू मुख्य रुपमा समेटिएका छन् ।
हालसम्म प्रत्येक क्लबमा ३ वटा सेसन सम्पन्न भइसकेको र बाँकी सेसनहरू अझ बढी ऊर्जा र उत्साहका साथ अगाडि बढिरहेको क्लबले जनाएको छ ।
हालैको फिल्ड भ्रमणमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछाने र परियोजना अधिकृत विजय शर्मा सेसनमा उपस्थित भई किशोरी सदस्यहरूलाई टिमवर्क, जिम्मेवारी र परिवर्तनको दृष्टिकोण बारे प्रेरणादायी सन्देश दिनुभयो ।

किशोरी सशक्तिकरणको यात्रामा सुष्मा चौधरी, हेमा देवी खड्का, राधिका थारु, पूजा थारु र दीपा चन्द जस्ता समर्पित सहजीकरणकर्ताले किशोरीहरूलाई आत्मविश्वास, संचार क्षमता र नेतृत्व गुण अभिवृद्धि गर्न निरन्तर सहयोग गरिरहेका छन् ।
यस पहलको सकारात्मक प्रभाव देखिन थालेको छ । सहभागी किशोरीहरूले विज्ञान अध्ययनमा परियोजनाले सहयोग गरेको र ल्याब प्रयोगले सुधार आएको बताएका छन्, साथै पहिचान र एकताको लागि टिसर्ट र क्यापको आवश्यकता रहेको समेत उनिहरुले औल्याएका छन् ।

