११२ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा २८ जनामा पोजेटिभ
समाचारदाता
नेपालगन्ज, मंसिर २३ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा मंगलवार सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा १४१ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा सोे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले उक्त शिविरमा ४३ जनाको पाठेघर सम्बन्धि एचपिभि डिएनए परीक्षण गरिएको पनि बताउनुभयो ।

शिविरमा आएका ११२ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँचगर्दा २८ जनाको भिआईए.पोजिटिभ अर्थात शंकास्पद पाईएको छ । दुई जना महिलाको पाठेघर खस्ने समस्या देखिएकोले रिंग हालिएको छ भने पाठेघरको शंकास्पद क्यान्सर देखिएका तथा अन्य संक्रमण भएकाहरुलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको बिग्रुपले जनाएको छ ।

सो शिविरमा स्त्री रोग बिशेषज्ञहरु डा. प्रेरणा मलिक र डा. सजिप्ता पन्तले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने कन्सल्ट्यान्ट फिजिसियन डा. शंकर केसीले पनि उहाँहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
शिविरमा उपचारका लागि पुग्नु भएका अधिकांश महिलाले यो शिविरबाट आफुहरुलाई निकै लाभ र उपचारमा सहयोग भएको प्रतिक्रिया दिनुभयो ।

स्त्री रोग बिशेषज्ञ डा. मलिकले शिविरमा आएका धेरै जना महिलाहरुमा पाठेघरको समस्या देखिएको जनाउँदै शिविरका कारण उनिहरुले समयमै उपचार शुरु गर्न सकेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, जनस्वास्थ्य नर्स विष्णु श्रेष्ठ, परिवार नियोजन सुपरभाइजर निरिक्षक बसन्ती मल्ल, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, स्वास्थ्य अधिकृत गोरखनाथ योगी र वरिष्ठ अनमि प्रेम कुमारी बिसी लगायतले शिविरको अनुगमन गर्नु भएको थियो ।

शिविरमा बिग्रुपका उपाध्यक्ष मीरा खनाल, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापा, बिग्रुपका स्वास्थ्य अधिकृत रुपक न्यौपाने लगायतको पनि सहभागिता रहेको थियो ।
संयोजक सिद्दिकीका अनुसार बीग्रुपले बाँकेको खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरिरहेको छ ।


