१ पुष २०८२, मंगलवार

हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

समाचारदाता
नेपालगन्ज, पुस १ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन एकोनोमी परियोजना अन्तर्गत हरित अर्थतन्त्रको महत्व विषयक अभिमुखीकरण कार्यक्रम बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सम्पन्न भएको छ ।
दुबै नगरपालिकामा आयोजित कार्यक्रममा २५–२५ जना सहभागी रहेका थिए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई हरित अर्थतन्त्रको अवधारणा, यसको महत्व र स्थानीय तहमा प्रयोगात्मक कार्यान्वयन बारे स्पष्ट बुझाइ प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।


अभिमुखीकरणमा हरित अर्थतन्त्रका उत्कृष्ट अभ्यासहरू, नेपाल सरकारका विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, साथै नगरपालिकाभित्र हरित आर्थिक पहल प्रवद्र्धन गर्न सहयोगी वातावरण कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको जनाईएको छ ।
ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रम मेयर तिलक राम लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपप्रमुख बिना कुमारी भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा प्रशासनिक अधिकृत रामहरि रिजाल, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरू, नगर इकाइ प्रमुखहरू, निजी क्षेत्रका प्रतिनिधि तथा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राधे कृष्ण थारु लगायतको उपस्थिति थियो ।
रोजगार इकाइ प्रमुख रवीन्द्र अर्यालले अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराईले हरित अर्थतन्त्र परियोजनाको प्रशंसा गर्दै नगरपालिकाले सम्भव भएसम्म पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


साथै परियोजनाका सफल अभ्यासहरू नगरपालिकाको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।
सोही प्रकारले राजापुर नगरपालिकाको कार्यक्रम मेयर दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा कार्यवाहक प्रशासनिक अधिकृत आनन्द प्रसाद जैसी, वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षहरू, नगर इकाइ प्रमुखहरू, निजी क्षेत्रका प्रतिनिधि तथा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालको उपस्थिति थियो । अभिमुखीकरणको सहजीकरण बसन्त कुमार बीसीले गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै मेयर थारुले आगामी दिनमा विद्यालय र समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नगरपालिकामा फोहोर व्यवस्थापन र प्लास्टिक प्रयोग प्रमुख चुनौती रहेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमहरूले प्लास्टिक प्रयोग न्यूनिकरण र वातावरणीय दिगोपनाबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *