समाचारदाता
नेपालगन्ज, पुस ६ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरुको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी बिकास भएको दावी गर्नु भएको छ ।
उहाँले निर्वाचन जितेर पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नम्बर २ मा धेरै राम्रो विकास भएको बताउनुभयो ।
खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष सम्वाद गर्दै उहाँले आफुले अझैपनि बाँकेलाई झन बढी बिकसित र राम्रो बनाउने योजना र लक्ष्यका साथ अघि बढेको जानकारी गराउनुभयो ।
विगतका निर्वाचनहरुका बेला आफूले गरेको बाचा र योजनाले मूर्त रुप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनुभयो ।

उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा आफुलाई जनताले विगत भन्दा बढी माया गरेको र बढी मत दिएको जनाउँदै तर केही प्राविधिक कारणले मात्र हार ब्यहोर्न परेको सुनाउनुभयो ।
आफुले जनताका कारण नभई विकास विरोधीहरुको मिलेमतो र षडयन्त्रका कारण हार्नु परेको पुर्वमन्त्री राईको भनाई थियो ।
उहाँले थप्नुभयो–काँग्रेसहरु पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति सुशिल कोइरालाको क्षेत्र भनेर फुइँ लगाउँछन् तर उनिहरुले गत निर्वाचनमा आफ्नो उम्मेदवारको जमानत जफ्त गराए ।
नेपालगन्ज–गुलरिया सडक खण्डको निर्माण आफु मन्त्री भएको बेला नै गराएको स्मरण गर्दै पुर्वमन्त्री राईले नेपालगन्जबाट गुलरिया पुग्न पहिले ३ घण्टा लाग्थ्यो, अहिले ३० मिनेटमा पुगिन्छ भन्नुभयो ।
उहाँले भेरी अस्पताल निर्माणका लागि ३२५ करोड रुपियाँ आफुले नै विनियोजन गर्न लगाएको बताउँदै त्यसपछि आएका मन्त्रीले कार्यान्वयन गर्न नसकेको र यहाँबाट गत निर्वाचनमा जितेका सांसदले कुनै दवाव पनि दिन नसकेको बताउनुभयो ।
