मन्त्री भएको बैला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरेको छु
समाचारदाता
नेपालगन्ज, माघ १० । बाँकेमा सबैभन्दा बलियो र हालसम्म प्रमुख प्रतिष्पर्धामा रहनु भएको एक मात्र उम्मेदवार हुनुहन्छ, बाँके क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मोहम्मद ईश्तियाक राई । उहाँले यस पटक बाँके २ बाट दोस्रो पटक जित निकाल्ने गरि मैदानमा होमिनुभएको छ ।
विकास प्रेमी र युवा उम्मेदवारका रुपमा अत्यधिक चर्चित नेता पुर्वमन्त्री राईले सानो समय सरकारमा रहँदा पनि बाँकेका लागि विकास निर्माणका यति धेरै काम गर्नुभयो कि उहाँको नाम नै विकास प्रमी नेता बन्न गयो । सोही कारणले उहाँले कतिपय प्रधानमन्त्री भइसकेकाहरुको क्षेत्रको भन्दा बढी विकास बाँके २ को भएको दावी समेत गर्नुहुन्छ । उहाँले यस पटक निर्वाचन चिन्ह फेरे पनि विकासको ऐजेन्डा र लक्ष्य नफेरेको बताउनुभयो ।

उहाँले गत निर्वाचनमा आफुलाई पराजित गरिएपछि क्षेत्रमा कुनै पनि विकास निर्माण नभएको दावी गर्दै बाँके क्षेत्र नम्बर २ र समग्र जिल्लाको विकास निर्माणलाई अगाडी बढाउन र बाँकी रहेका कामहरुलाई पुरा गर्न फेरी आफु जनताको माझमा पुगेको बताउनुभयो । यस पटक जताततै आफुलाई राम्रो समर्थन र सहयोग मिलिरहेको पनि पुर्वमन्त्री राइको भनाईछ ।
पुर्वमन्त्री राइको विगत केलाउने हो भने २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नम्बर २ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बन्नुभएका नेता राईले एमालेका दिनेशचन्द्र यादवलाई ठुलो मतान्तरले पराजित गर्नुभएको थियो । तर, २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा पुरानै प्रतिस्पर्धी यादवसंग उहाँ पराजित हुनु भएको थियो ।

२०७४ सालको संसदीय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार भएका पशुपति दयाल मिश्रलाई पराजित गर्दै उहाँ फेरी निर्वाचित हुनुभयो । २०७९ सालको संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएका राई नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएका राप्रपाका उम्मेदवार धवल शमशेर राणा संग पराजित हुनुभएको थियो ।
एक पटक जित एक पटक हारको सिलसिला लगातार दुई पटक अनुभव भोग्नुभएका राई यस पटक जित्ने सांसदका रूपमा अग्रपंक्तिमा देखिनुहुन्छ ।
उहाँले २०६४ सालको संविधान सभा निर्वाचन पश्चात् संघीय सरकारमा सानो समयका लागि श्रम तथा यातायात व्यवस्था मन्त्री सम्हाल्नु भएको थियो भने २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि शहरी विकास र भौतिक पूर्वाधार गरि २ पटक मन्त्री बन्नुभयो। संघीय सरकारमा मन्त्री हुँदा बाँके जिल्लामा ल्याएको विकासका आयोजनाहरुलाई वर्तमान निर्वाचनमा आफ्नो प्रमुख एजेण्डा बनाएर उहाँ फेरी चुनावी मैदानमा हुनुहन्छ ।

विगतका दुई कार्यकालमा आफू बाँके २ का जनताको हरेक दुस्ख सुखमा सदैव साथमा रहेको भन्दै उहाँले कामको मूल्यांकन जनताले गरेर फेरि मलाई विजयी बनाउनेमा आफू ढुक्क रहेको बताउनुभयो। उहाँले नेपालगन्जमा अस्पताल र सडकहरुको स्तरोन्नति, सभाहल, पुलपुलेसाहरुको निर्माण लगायतका अनेकौं विकासको काम गरेको स्मरण गर्दै मन्त्री भएको बेला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरेको बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिनुको कारण खुलाउँदै उहाँले भन्नुभयो, ‘संविधान, संघीयता र लोकतन्त्र रक्षाका लागि म एमालेबाट उम्मेदवार भएको हुँ। राष्ट्रप्रेम र देश विकासका सवालमा केपी ओलीको चट्टानी अडानबाट प्रभावित भएर नै मैले एमाले रोजेको हुँ। एमालेले नै नागरिकका बाँकी मुद्दाको सम्बोधन गर्नसक्छ।’

बाँके २ मा एमालेका राईसंगै नेपाली कांग्रेसका सुधांसु कोइराला, रास्वपाका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र विष्ट, जसपा नेपालका कमरुद्दीन राई, राप्रपाका ऋषि राज देवकोटा लगायत २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर चुनावी भिडन्त भने एमाले, काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी विचनै हुने देखिएको छ ।
