बिष्टले गरेर नेपालगन्जका जेन–जी युवाहरुसंग छलफल र संवाद
समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार दिपेन्द्र बिष्टले बदलिँदो समय, प्रविधि र अवसरको खोजीमा रहेका जेन–जीले उठाएका मागहरुप्रति आफू गम्भीर रहेको बताउनुभएको छ । आज नेपालगन्जमा जेन–जी युवाहरूसँग खुला छलफल गर्दै उनिहरुका कुरा सुनेपछि बिष्टले सो बताउनु भएको हो ।
सो छलफलमा जेन–जी युवाहरूले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा प्रणाली, उद्यमशीलता र पारदर्शी शासन जस्ता विषयमा आफ्ना धारणा राखेका थिए। युवाहरूले “हामीलाई भाषण होइन, अवसर चाहिएको छ” भन्दै व्यवहारिक समाधानको अपेक्षा व्यक्त गरेको छलफलमा सहभागि एक युवाले बताउनुभयो ।

युवाको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार बिष्टले भन्नुभयो, “जेन–जी केवल भोलिको भविष्य होइन, आजकै शक्ति हो। तपाईंहरूले उठाएका हरेक मुद्दा मेरो एजेन्डाको केन्द्रमा छन्।” उहाँले युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता पनि जनाउनुभयो।
बिष्टले डिजिटल सीप, स्टार्टअप प्रवर्द्धन, प्रविधिमैत्री शासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताउँदै जेन–जीको सोच र ऊर्जालाई राज्यको योजनासँग जोड्ने धारणा राख्नुभयो।

छलफलमा सहभागी जेन–जी युवाहरूले बिष्टलाई आफ्नो पुस्ताको भावना बुझ्ने र संवाद गर्न सक्ने नेताको रूपमा लिएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार खुलेर कुरा सुन्ने र जवाफ दिने शैलीले उहाँप्रतिको भरोसा बढाएको छ।
युवासँग प्रत्यक्ष संवादमार्फत बिष्टले बाँके–२ मा नयाँ राजनीतिक बहसको सुरुवात गरेको भन्दै यो छलफललाई आशा र सहभागिताको संकेतका रूपमा हेरिएको छ। नेपालगन्जका टोल टोलमा युवाहरुलाई संगठित गरेर अगाडी बढ्ने समेत नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

