समाचारदाता
नेपालगन्ज, माघ ११ । जनता समाजवादी पार्टी नेपालका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले मधेशी लगायत सबै उपेक्षित जनताको अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत लगायत समग्र बाँकेबासीको अधिकार र विकासका लागि आफूले उपमेयरको कुर्सी त्यागेर संसदिय निर्वाचनमा होमिएको बताए। ‘बाँके क्षेत्र नं। २ का जनताको स्वाभिमान र इज्जतका लागि मैले उपमेयरको उम्मेदवारी त्यागेँ । उपमेयर रहँदा मैले राज्यबाट धेरै थरि सेवा सुविधा पाइनै रहेको थिएँ । उपमेयर हुँदा जनताको अधिकार स्थापित गर्न सदन नै चाहिने भएकोले सवै सेवा, सुविधा त्यागेर संसदिय निर्वाचनमा होमिन बाध्य भएँ,’ उनले भने ।

निर्वाचन जितेर गएपछि जनताको घर दैलोमा पाइला नटेक्ने नेतासँग सजग रहन आग्रह गर्दै उनले आश्वासनको भरमा मतदान नगर्न सुझाव दिए । ‘मल कारखाना, उद्योग, कलकारखाना खोल्ने भन्दै भोट माग्ने नेतासँग सजग रहनु होला,’ उनले भने ।
उनले कुर्सीका लागि दल बदल्ने नेताले भोली जिल्ला र घर नै बदल्न बेर नलगाउने पनि बताए। ‘पद र कुर्सीका लागि दल बदल्ने नेताले भोली पदका लागि जे पनि गर्न सक्छ । तपाई, हामी त के घर नै बदल्न सक्छन्,’ उनले भने, ‘दल बदलु नेताका कारण मधेसीको अधिकार धरापमा परेको हो ।’उनले उपमेयर रहँदा सवैलाई समान ब्यवहार गरेको बताउँदै उनले गाउँबाट आएकालाई समेत शहरका नागरिक जस्तै ब्यवहार गरेको जिकिर गरे । ‘गाउँबाट चप्पल लगाएर आएका होउन चाहे शहरका जुत्ता लगाउने ब्यक्ति होवस सवैलाई समान ब्यवहार गरेँ,’ उनले भने ।

मधेसीको अधिकारका लागि ज्यान गुमाउनेको सम्मान नभएको बताउँदै उनले मधेस आन्दोलनमा ज्यान गुमाउने सहिदको मर्म अनुसार काम गर्ने बताए ।
मधेसी आन्दोलनमा बलिदानी दिएकाहरुको रगत नेपाली नागरिकतामा पोतिएको बताउँदै उनले महिलाको अधिकारलाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले संसदमा जिते पनि भूइँ मान्छे भएर नै बस्ने प्रतिवद्धता समेत जनाए ।

