समाचारदाता
नेपालगन्ज, माघ १३ । बाँके क्षेत्र नं २ मा चुनावी माहोल थप तातिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले निर्वाचन प्रचार र जनसम्र्कलाई बलियो बनाउन क्षेत्र नम्बर २ का विभिन्न वडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालय धमाधम खोलिरहनु भएको छ । आज उहाँले नेपालगन्ज उपमहानगरपालिका वडा नं २ र ६ मा प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । विभिन्न वडामा कार्यालयहरु खुल्न थालेसँगै जनसम्पर्क अभियानले नयाँ गति पाएको छ ।

उद्घाटन कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनको पनि उपस्थिति रहेको थियो। उहाँहरूले जनतासँग प्रत्यक्ष संवाद, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार दिपेन्द्र बिष्टले राजनीति जनताको दैनिकीसँग जोडिनुपर्ने बताउँदै रोजगारी, आधारभूत सेवा र स्थानीय समस्या समाधान आफ्नो प्राथमिकता हुने स्पष्ट पार्नुभयो। उहाँले सम्पर्क कार्यालयलाई प्रचारको थलो मात्र नभई जनताको आवाज सुन्ने साझा केन्द्रका रूपमा विकास गर्ने धारणा राख्नुभयो।

स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिताले दुबै वडामा चुनावी उत्साह झनै बढेको देखिएको छ। स्थानीयले उम्मेदवार बिष्टको सक्रियता, सरल शैली र सुनुवाइ गर्ने स्वभावले विश्वास बढाएको प्रतिक्रिया दिएका छन्।व डा २ र ६ मा खुलेका सम्पर्क कार्यालयसँगै बाँके क्षेत्र नं २ मा चुनावी अभियान थप संगठित र जनमुखी बन्दै गएको संकेत देखिएको छ।

